तालमेलको चटक : केन्द्रमा मेल जिल्लामा बेमेल, आकांक्षी व्यवस्थापनमै सकस

तालमेलको चटक : केन्द्रमा मेल जिल्लामा बेमेल, आकांक्षी व्यवस्थापनमै सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय गठबन्धनका दलहरुलेआगामी स्थानीय निर्वाचनमा तालमेल गरेर नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । त्यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा केन्द्रदेखि तल्लो तहसम्मै तालमेलको कसरतमा जुटेका छन् ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ ।सत्तामा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी तालमेलको सहमतिमा भने तल्ला तहमा असन्तुष्टि बढेको छ ।

बैशाख ३० मा हुने चुनावी तालमेलबारे केन्द्रले गरेको निर्णयका विषयमा जिल्लामा रहेका पार्टी संयन्त्रले फरक मत राख्दै आइरहेका छन् ।कांग्रेस चितवन र कांग्रेस पर्साले केन्द्रीय तहबाट गरिएको गठबन्धनको निर्णय नमान्ने भन्दै विद्रोहको चेतावनी नै दिइसकेका छन् । भरतपुर महानगरपालिकाका कांग्रेसका वडा अध्यक्षहरूले यसपटक कुनै हालतमा तालमेलको निर्णय नमान्ने भन्दै विज्ञप्ति नै जारी गरिसकेका छन् ।

यसैगरी पर्सा कांग्रेसले जिल्लाका १४ वटै पालिकामा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति जनार्दनसिंह क्षत्रीले जानकारी दिए । सत्ता गठबन्धनमा रहेका दलका केन्द्रले भने केन्द्रदेखि प्रदेश र जिल्ला तथा पालिका तहमा संयन्त्र बनाएर तालमेलको मोडालिटी तय गर्न मातहतका निकायलाई निर्देशन नै गरिसकेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटमा समेत कांग्रेसले तालमेल गर्न नहुने बताएको छ । प्रचण्डको गृहनगर भरतपुरमा कांग्रेसका स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेता नेपालको गृहनगर रौतहट, चन्द्रपुर पनि कांग्रेस गठबन्धनको विपक्षमा उभिएको हो ।

‘चन्द्रपुर नगर कमिटीको बैठकले गठबन्धन नगरिक नै कांग्रेस एक्लैले स्थानीय तह निर्वाचन जित्ने निष्कर्षका साथ निर्णय गरिसकेको छ,’ चन्द्रपुर नगर सभापति मुकेश गिरीले भने, ‘कांग्रेस केन्द्रीय कार्यालयले पनि आवश्यकताका आधारमा स्थानीय तहले गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय लिन सक्छन् भन्ने निर्देशन दिएको थियो, त्यही आधारलाई टेकेर चन्द्रपुरमा गठबन्धन नै नगरी कांग्रेसले निर्वाचन जित्न सक्छ भनेर सो निर्णयमा पुगेका हौं ।’

गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने निर्णय गर्दै अन्य तहमा उम्मेदवार गठबन्धनको संयन्त्रमार्फत तय गरेर केन्द्रमा सिफारिस गर्न भन्दै गत मंगलबार निर्देशन गरिसकेको छ । सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको हो ।

केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा रहेका दलका संयन्त्र अनिच्छुक बन्दै गएपछि सत्ता गठबन्धन आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्थानीय तहलाई संयन्त्र बनाएर तालमेल तय गर्न र सोहीअनुसार तहगत रूपमा निर्णय सिफारिस गर्न भनेका हुन् ।

स्रोतका अनुसार कांग्रेसले काठमाण्डु, ललितपुर र विराटनगर महानगरपालिकामा नेतृत्व लिनेगरी गठबन्धनको उच्च तहमा सहमति भएको छ । यस्तै, भरतपुर महानगर माओवादी केन्द्र, पोखरा महानगर नेकपा एकीकृत समाजवादी र वीरगन्ज महानगर जसपालाई दिनेगरी गठबन्धनका उच्च तहका नेताबीच सहमति भएको छ ।

तर, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलको संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् ।

एमाले पनि तालमेलको कसरतमा

प्रमुख प्रतिपक्षमा रहेको दल नेकपा एमाले पनि तालमेलको कसरतमा जुटेको छ । स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुले चुनावी तालमेल गर्ने सहमति गरेपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेका एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ ।

एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतीअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन् । यसैगरी, एमाले र परिवार दलबीच पनि चुनावी तालमेलको सहमति भइसकेको दाबी गरिएको छ ।

आकांक्षी व्यवस्थापनमा सकस

स्थानीय तह निर्वाचनका लागि आकांक्षी धेरै हुँदा दलहरूमा अन्योल बढ्दै गएको छ । सामान्य नेता–कार्यकर्तामा पनि उच्च महत्त्वाकांक्षा बढेर उम्मेदवार बन्ने होडबाजी हुँदा पाँच दलीय गठबन्धनलाई उम्मेदवार टुंग्याउन सकस भइरहेको हो ।

केन्द्रले तालमेल गर्ने सहमति गर्यो तर कसरी गर्ने भन्ने रोडम्याप कसैसँग छैन । ‘जिल्ला जिल्लामा सबै आ–आफ्नै तरिकाले दाबी नछोड्ने गरी प्रस्तुत भइरहेका छन् । त्यस कारण कतिपय जिल्लामा गठबन्धनको सम्भावना क्षीण हुँदै गएको छ,’ एक नेताले भने ।

पछिल्लो समय गठबन्धनका कारण हरेक पार्टीमा किचलो छ । ‘गठबन्धन हुन्छ, जसरी पनि जितिन्छ भन्ने सोच सबैमा जागेको छ । तर, अन्तरमनदेखि जनताको सेवामा खटिने भावना कमैको छ,’ ती नेताले भने ।े

गठबन्धनका दलले अहिलेसम्म उम्मेदवार छनोटको मापदण्ड बनाएका छैनन् । राम्रो सेवासुविधा र गठबन्धनका कारण उम्मेदवारका आकांक्षी बढेको नेताहरुको भनाई छ ।

आकांक्षी धेरै हुँदा गठबन्धनलाई मात्र हैन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत उम्मेदवार टुंगो लगाउन सकस भइरहेको छ ।