काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले महानगर र उपमहानगरलगायतका स्थानमा भागबण्डाको टुंगो लगाउने छ ।
हिजो (आइतबार) राति गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको छ । जसमा गठबन्धन दलबीच महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको स्रोतले बतायो ।
रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी र अनुगमन समितिको प्रस्तावअनुसार नेपाली कांग्रेसले ललितपुरको उपमेयर, एकीकृत समाजवादीले काठमाण्डुको उपमेयर र जसपाका लागि विराटनगरको उमेयर प्रस्ताव गरिएको छ ।
त्यस्तै माओवादी केन्द्रले भरतपुर महानगरको उपमेयर र अन्य सबै वडामा कांग्रेसलाई प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीलाई पोखराको उपमेयर जसपालाई वीरगञ्जको उपमेयर प्रस्ताव गरिएको छ ।
साथै धरानको मेयरमा कांग्रेस, उपमेयर समाजवादी प्रस्ताव गरिएको छ । यसमा माओवादी केन्द्रले सहमति जनाएको स्रोतले जानकारी दियो । इटहरीको मेयरमा समाजवादी र उपमेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ ।
जनकपुरको मेयर कांग्रेस र उपमेयर जसपा, जितपुर सिमराको मेयर माओवादी र उपमेयर कांग्रेस, कलैयाको मेयर जसपा र उपमेयर कांग्रेस, हेटौंडाको मेयरमा समाजवादी र उपमेयरमा कांग्रेस, बुटवलको मेयरमा कांग्रेस, उपमेयर समाजवादी, घोराहीको मेयरमा कांग्रेस, उपमेयरमा जनमोर्चा, तुलसीपुरको मेयरमा कांग्रेस र उपमेयरमा समाजवादी, नेपालगञ्जको मेयर कांग्रेस र उपमेयर माओवादी र धनगढीको मेयरमा कांग्रेसलाई प्रस्ताव गरिएको छ । समितिले प्रस्ताव गरेका नामका विषयमा शीर्ष नेताहरुबीच छलफल जारी छ । नेताहरुले भागबण्डाको विषय आज बेलुकासम्म टुंगो लगाउने तयारी गरेका छन् ।




प्रतिक्रिया