काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले पोखरामा गठबन्धन तोड्ने निर्णय गरेको छ । पोखराको मेयर नेकपा एकीकृत समाजवादीले पाउने भएपछि पोखरा कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् ।
पोखरा महानगरको टिकट कुनैपनि हालतमा अन्य दललाई नदिने पक्षमा कांग्रेस रहेको थियो । पोखरा कांग्रेसले केन्द्रको निर्देशनअनुसार स्थानीय निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनका दलहरूसँग पटक पटक लामो छलफल र बहस गरेपनि एकीकृत समाजवादीको अस्वभाविक दावीका कारण आफुले गठबन्धन तोड्न बाध्य भएको बताएको छ ।
साथै कांग्रेसले पार्टीका मातहतका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी गठबन्धनका अन्य दलसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने घोषणा गरेको छ ।
‘केन्द्रको निर्देशनअनुसार स्थानीय निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनका दलहरूसँग पटक पटक लामो छलफल र बहसका साथै तालमेल गरेर जाने सन्दर्भमा भरपूर प्रयत्न गरियो । जिल्ला संयन्त्रबाट तालमेल गर्ने सम्बन्धमा कास्कीमा व्यापक छलफल हुँदा पनि एकीकृत समाजवादीको अस्वभाविक दावीका कारण निष्कर्ष निस्कन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।
‘नेकपा एकीकृत (समाजवादी) सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो’, कांग्रेसको निर्णयमा भनिएको छ ।





प्रतिक्रिया