काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेताहरुले चार उपमहानगरपालिकाको नेतृत्व आफूहरुले पाउनुपर्ने दावी गरेका छन् । स्थानीय तहको चुनावबारे छलफल गर्न मंगलबार आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीबाट पछि नहट्न प्रचण्डलाई सुझाव दिएका हुन् ।
महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चारवटा उपमहानगरमा पनि दाबी गरेको छ । माओवादीले गठबन्धनको बैठकमा जितपुर सिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको अवस्थाबारे ‘बिफ्रिङ’ गरेको पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले जानकारी दिए।
यस्तै आजको बैठकले कांग्रेसको घमण्ड र नेकपा एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी दाबी गर्दा चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष निकालेको हो । कांग्रेस लचिलो नबने बाँकी चार दलको मात्र गठबन्धन गर्ने विकल्पमा समेत माओवादीभित्र छलफल भएको जनाइएको छ । कांग्रेसले ८ वटा उपमहानगरपालिका दावी गरेपछि समस्या आएको प्रचण्डले बताएका छन् ।




प्रतिक्रिया