काठमाण्डु – सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो ।
सातै प्रदेशमा आयोजना हुने चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए । समितिको निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ ।
यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विराटनगर र जनकपुरमा हुनेछ । यसैगरी २२ गते काठमाण्डुमा आमसभा हुनेगरी कार्यक्रम बनाइएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए ।
साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको छ ।
गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए । बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार पाँच दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ ।




प्रतिक्रिया