काठमाण्डु – धनकुटा पूर्वी पहाडको सुगम जिल्ला मानिन्छ । पञ्चायतकाल र पछिसम्म पनि यो राजनीतिको केन्द्रमा थियो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनपछि यो जिल्लाको चर्चा केही कम हुन थालेको छ ।
धनकुटामा आगामी स्थानीय चुनावका लागि दलहरू मैदानमा उत्रने तयारीमा छन् । जिल्लामा तीनवटा नगरपालिका र चारवटा गाउँपालिका गरी सातवटा स्थानीय तह छन् । गत चुनावमा यो जिल्ला एमालेको मजबुत किल्ला बनेको थियो । कांग्रेस, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टी यहाँका अन्य प्रभावशाली दल हुन् । सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर कांग्रेस प्रवेश गरेपछि धनकुटामा राप्रपाको प्रभाव साँघुरिएको छ ।
०७४ सालको चुनावमा धनकुटामा एमालेले क्लिन स्विप गरेको थियो । उसले धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिकाको मेयर–उपमेयरसहित अधिकांश स्थानमा जित निकाल्यो । उसले खाल्सा–छिन्ताङ–सहिदभूमि, चौबिसे, छथर–जोरपाटी र साँगुरीगढी गाउँपालिकामा पनि अध्यक्ष–उपाध्यक्षसहित एकतर्फी रूपमा पकड बनाएको थियो ।
जिल्लामा आगामी चुनावको जोड–घटाउ पनि सुरु भइसकेको छ । सत्तासाझेदार दल गठबन्धन बनाएर मैदानमा उत्रिएका छन् । एमाले भने एक्लै बलियो रहेकाले आत्मविश्वासी देखिन्छ । एमालेलाई रोक्न धनकुटामा क्रियाशील सत्तागठबन्धनमा आबद्ध चार राजनीतिक दल एक ठाउँमा उभिएका छन् । यद्यपि, सिट बाँडफाँड भने भइसकेको छैन । गठबन्धन बन्दा केही पालिकामा एमालेलाई असर पर्न सक्छ । राप्रपाका धेरै कार्यकर्ता अहिले कांग्रेस प्रवेश गरेका छन् । एमालेमा आएको विभाजनको पनि यहाँ केही प्रभाव परेको छ । मुख्यतः धनकुटा नगरपालिकामा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि एमालेको भन्दा बढी मत हुन्छ ।
यस्तै, चौबिसे गाउँपालिकामा पनि गठबन्धन एमालेभन्दा अघि हुने सम्भावना देखिन्छ । यी दुईबाहेकका गाउँपालिकामा भने एकीकृत समाजवादीले धेरै मत नकाटेसम्म अन्य दलले चुनाव जित्ने सम्भावना कमजोर छ । एमाले विगतकै जस्तो स्विप गर्ने योजनामा देखिन्छ भने अन्य दल जसरी पनि एमालेको किल्ला भत्काउने अभियानमा लागेका छन् । सातमध्ये चारवटा गाउँपालिकामा एमालेले फेरि पनि सहजै जित निकाल्न सक्छ ।
तीनवटामा भने उसले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ । समग्रमा यसपटक एमालेले अघिल्लो चुनावमा जस्तो क्लिन स्विप नै गर्न भने गाह्रो छ । उसले एक–दुईवटा पालिका गुमाउन सक्नेछ । जिल्लामा स्थानीय चुनावका लागि १ लाख १५ हजार ९ सय ६४ मतदाता छन् । तीमध्ये ५७ हजार ७ सय १६ पुरुष र ५८ हजार २ सय ४८ महिला छन् ।











प्रतिक्रिया