काठमाण्डु – नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको पहिलो सुनुवाइ आज हुने भएको छ । एआईजी विश्व पोखरेलले सर्वोच्च अदालतमा सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि सोमबार रिट दायर गरेका थिए ।
एआईजी पोखरेल सिंहभन्दा १६ महिना पहिलो एआईजीमा बढुवा भएका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफु अगाडी रहेको भन्दै सिंह नियुक्ति कानुनविपरीत भएको रिटमा दावी गरेका छन् ।
रिट निवेदनमा पोखरेलले संविधानको धारा ४६ तथा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषण र परमादेश समेतको माग दाबी गर्दै रिट निवेदन दर्ता गराएका हुन् । पोखरेलले आफू नै वरिष्ठ अतिरिक्त प्रहरी महानिरीक्षक रहेको हुँदा परमादेशमार्फत प्रहरी महानिरीक्षक बनाउन माग दाबी समेत गरेका छन् ।
सर्वोच्च अदालतबाट प्रतिपादन भएका दुई वटा नजिर र प्रचलित संवैधानिक एवंम् कानुनी ब्यवस्थाअनुसार अदालतको फैसला आए सिंहको नियुक्ति उल्टने सम्भावना छ ।
यसअघि तत्कालिन डीआईजी नवराज सिलवालको रिटमा सर्वोच्च पूर्ण इजलासले आईजीपी नियुक्ती गर्दा वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई मुख्य आधार बनाउनुपर्ने फैसला गरेको छ ।
पोखरेल जेष्ठता र कार्यसम्पादन दुवै हिसावले अगाडी छन् । उनि १६ महिनाअघि बढुवा भएका हुन् भने उनको एक वर्षको कार्यसम्पादन समेत त्यसमा जोडिंदा उनि त्यसमा समेत अघि हुन्छन् । सिंह केही साता अघि मात्र एआईजीमा बढुवा भएकाले उनको कार्यसम्पादन त्यसमा जोडिने छैन् । सिंहलाई एआईजीको दज्र्यान्ही चिन्ह तत्कालिन आईजीपी शैलेश थापा र पोखरेलले नै लगाएका थिए ।
आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिहंलाई आईजीपी नियुक्त गरेको थियो । सिंहभन्दा अघि एआईजी सहकुल थापा समेत थिए तर,उनलाई समेत सरकारले पाखा लगाएको थियो ।
पोखरेलको पक्षमा कानुन व्यवसायीहरु सतिस खरेल र हरिहर दाहाललगायतले आज बहस गर्नेछन् । सर्वोच्चले आज अन्तरिम आदेश दिन्छ वा छलफलका लागि दुवै पक्षलाई बोलाउंछ उक्त विषयलाई चांसोका साथ हेरिएको छ ।




प्रतिक्रिया