काठमाण्डु – बुधबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल यात्रुहरुले भरिभराउ थियो । कतिपय यात्रुहरु उडानका तयारीमा थिए भने कतिपय टिकट काट्ने लाइनमा थिए ।
करिब १० बजेको समयमा विमानस्थलको टर्मिनल ड्युटी अफिसर (टीडीओ) कार्यालयको ल्याण्डलाइनमा फोन आयो । एक युवकले पाकिस्तानी नम्बरबाट फोन गर्दै विमानस्थलको आन्तरिकतर्फ बम राखिएको हल्ला फैलाए ।
फोन गर्ने व्यक्तिले लगातार भन्यो– तिमीहरुको आन्तरिक टर्मिनलमा ७ वटा बम राखिएको छ, दुइ घण्टाभित्र पड्किन्छ तुरुन्त खाली गर्नू । ‘तपाईं कहाँबाट को बोल्नुभयो’ भनेर प्रश्न गर्न नभ्याउँदै फोन राखियो र लगत्तै अर्को नम्बरबाट फोन आयो त्यही भनियो ।
ती युवाले विमानस्थलमा दुई पटक फोन गरेका थिए । उनले पहिलो फोन कल ९ : ४५ मा गरेका थिए भने दोस्रो ९ : ५१ मा गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । प्रवक्ता सिटौलाका अनुसार ती युवाले ‘वालेकुम सलाम’ भनेर कुराकानी सुरु गरेका थिए । उनले आफु मुस्लिम समुदायको भएको परिचय दिए तर ती सबै कल नेपाल बाहिरबाट आएका थिए । उनले नेपालीमै बोलिरहेका थिए ।
उनले बम डिस्पोज गरेर देखाउन पनि फोन उठाउने कर्मचारीलाई चुनौती दिए । त्यसपछि विमानस्थल कार्यालयमा रहेका प्रहरी र विमानस्थल व्यवस्थापन सबैलाई तत्कालै खबर गरियो । विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले तत्कालै सबै यात्रुहरूलाई सुरक्षित बाहिर निकाले । साथै उड्ने तयारीमा रहेका जहाज पनि रोकियो ।
‘आन्तरिक टर्मिनलमा बम राखिएको भनेर पाकिस्तानी नम्बरबाट तीन पटक फोन आयो,’ विमानस्थलमा महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने, ‘हामीले तत्कालै विमानस्थल खाली ग¥यौँ, उडान पनि रोक्यौँ ।’
त्यसपछि शुरू भयो बम खोज्ने कार्य । त्यसका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरियो । र सेना, प्रहरीसहित कुकुर पनि परिचालन गरियो । तर, बम भने कतै फेला परेन । शंकास्पद बस्तु केहि फेला नपरेपछि करिब डेढ घण्टापछि पुनः विमानस्थल सञ्चालनमा ल्याइएको महाप्रबन्धक ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले अवस्था सामान्य बन्दै गएको छ ।
फोन गर्ने अपरिचित व्यक्तिको मोबाइल नम्बरबारे अनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बम भनेर हल्ला फैलाउनेको खोजी भइरहेको बताए । उनले खोजतलासपछि कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको र स्थिती सामान्य भएको बताए ।




प्रतिक्रिया