दाङका दुवै उपमहानगरमा एमाले अप्ठेरोमा, जिल्लामा पुरानो वर्चस्व दोहोर्‍याउन मुस्किल

दाङका दुवै उपमहानगरमा एमाले अप्ठेरोमा, जिल्लामा पुरानो वर्चस्व दोहोर्‍याउन मुस्किल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दुई उपमहानगरपालिका भएका जिल्ला देशमै तीनवटा छन् । त्यसैमध्येको एक हो दाङ । लुम्बिनी प्रदेशमा पर्ने भित्री मधेसको यो जिल्लामा १० वटा स्थानीय तह छन् । तीमध्ये सातवटा गाउँपालिका छन् । दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला पनि हो ।

०७४ सालको नतिजाका आधारमा जिल्लामा एमाले पहिलो दल हो । कांग्रेस र माओवादी केन्द्र उसका प्रतिस्पर्धी दल हुन् । एमालेले अघिल्लो चुनावमा घोराही र तुलसीपुर उपमहानगरपालिकासहित ६ वटा तहमा जित निकालेको थियो । कांग्रेसले तीन र माओवादीले एक पालिका जितेका थिए ।

एमाले उपमहानगरका मेयर–उपमेयर, लमही नगरपालिकाको मेयर, गढवा र बबई गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा दंगीशरण गाउँपालिकको अध्यक्ष जित्न सफल भयो । कांग्रेसले राजपुर, राप्ती र शान्तिनगर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा लमहीको उपमेयर दंगशरणको उपाध्यक्ष जितेको थियो । माओवादीले भने बंगालचुली गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जित्यो । आगामी वैशाख ३० गते हुने चुनावका लागि दुवै उपमहानगरमा कांग्रेस, माओवादीलगायत दलबीच तालमेल भएको छ ।

जिल्लाभर नै तालमेल गर्ने प्रयास भने असफल भएको छ । दुई उपमहानगरमध्ये घोराहीमा माओवादी र तुलसीपुरमा कांग्रेसले मेयर बाँडेका छन् । दुवै उपमहानगरमा गत चुनावमा प्राप्त मत मिलाउँदा विजयी एमालेको भन्दा कांग्रेस र माओवादीको निकै बढी छ । तर, गठबन्धन पूर्ण रूपमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चिन्ता यी दुई दलमा देखिन्छ । यदि गठबन्धनअनुसार नै मत खसेमा एमालेले दुवै उपमहानगर गुमाउने सम्भावना छ ।

यसअघि एमालेले जितेको गढवामा अहिले कांग्रेस बलियो छ । अघिल्लोपटकको प्रतिस्पर्धी फोरम लोकतान्त्रिक मिसिएकाले कांग्रेसलाई सहज भएको हो । त्रिपक्षीय प्रतिस्पर्धा रहेको यो गाउँपालिका पनि एमालेले हार्न सक्छ । विगतमा माओवादीले जितेको बंगलाचुलीमा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिएर तालमेल गरेका छन् । कांग्रेसले जितेका राजपुर र राप्ती गाउँपालिकामा माओवादीसँग प्रतिस्पर्धा छ । लमही र शान्तिनगरमा त्रिपक्षीय भिडन्त देखिन्छ ।

एमाले विभाजनको केही असर पनि जिल्लामा देखिएको छ । एकीकृत समाजवादीले विशेष गरी सहरी क्षेत्रमा संगठन बनाएको छ । समग्रमा दाङमा एमालेलाई विगतको वर्चस्व कायम राख्न मुस्किल छ । दुवै उपमहानगर र गढवा गाउँपालिका उसले गुमाउन सक्छ । कांग्रेस र माओवादीलाई भने यसले फाइदा हुन सक्छ ।

जिल्लामा आगामी चुनावका लागि ४ लाख ९ हजार ९ सय मतदाता छन् । ती मध्ये २ लाख ७ सय ९९ पुरुष र २ लाख ९ हजार ९९ महिला छन् ।