काठमाण्डु – सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता मोहम्मद अलताफ आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गरेको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दाको अन्तिम फैसला नहुन्जेल जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गर्दै आलमलाई जेलमा राख्ने निर्णय गरेको हो ।
पूर्वमन्त्री आलममाथि २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ ।
जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । आलमलाई तीनवटा मुद्दामा ३२ वर्ष कैदको माग गरिएको छ ।
बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा उनीविरुद्ध दर्ता भएको हो । सर्वोच्चको यो आदेशसँगै आलम मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म जेलमै रहने निश्चित भएको छ ।




प्रतिक्रिया