स्थानीय निर्वाचन : एमालेको सिट संख्या घट्यो तर घटेन जनमत

स्थानीय निर्वाचन : एमालेको सिट संख्या घट्यो तर घटेन जनमत

मत संख्याका आधारमा एमाले पहिलो दल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले दोस्रो स्थानमा सिमित भएको छ । हालसम्मको नतिजा हेर्दा स्थानीय तहमा एमालेको सिट संख्या घटे पनि जनमत भने घटेको देखिंदैन ।

०७४ सालमा देशका २ महानगर, ७ उपमहानगरसहित २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको एमाले यतिखेर मुस्किलले २ सय २ पालिकामा मात्रै जितेर दोस्रो पार्टीमा खुम्चिएको छ ।  यद्यपी १३ स्थानीय तहको मतगणना बाँकी छ ।

मतगणना अन्तिम चरणमा पगिसक्दा एमाले महानगरमा शून्य र हालसम्म २ उपमहानगर मात्र जितेको छ । तर, पालिका प्रमुख वा अध्यक्षमा एमालेले हारेको भए पनि उपप्रमुख वा उपाध्यक्ष र सदस्यमा भने जितिरहेको छ ।

मत संख्याका आधारमा हेर्दा एमालेले हालसम्म देशभर पाएको मत संख्या उल्लेखनीय रहेको छ । पार्टीहरूको एक्लाएक्लै मत हेर्दा एमालेले हालसम्म देशभर ४५ लाख ८५ हजार ७६७ मत पाएर पहिलो पार्टी भएको छ ।

नेपाली कांग्रेसले हालसम्म ३२२ स्थानीय तह जितेको छ । प्रमुख सिट संख्याका आधारमा पहिलो दल बनेको  कांग्रेस ३९ लाख १९ हजार २९६ मत पाएर दोस्रोमा देखिन्छ । कांग्रेसले हालसम्म २ महानगर, ३ उपमहानगरसहित ३ सय २० तहमा जित्न सफल भएको छ ।

माओवादी केन्द्रले १ सय २१ स्थानीय तह जितेको छ भने जसपा २९, एकीकृत समाजवादी १८, लोसपा १६ र  स्वतन्त्रले ३० पालिका जितेका छन् । पाँचदलीय गठबन्धनको घेराबन्दीको बावजुद एमाले एक्लैले पाएको उक्त मत संख्या उल्लेखनीय हो ।

एमालेले प्रमुख सिट गुमाउनुको कारण

नेकपा एमालेले यो निर्वाचनमा अप्रत्यासित हार व्यहोर्नुपरेको छ । निर्वाचनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– ‘एमाले कुइन्टल हो, सत्ता गठबन्धन ढक !’ तर स्थानीय तहको नतिजा अन्तिम चरणमा पग्दा ठ्याक्कै त्यसको उल्टो हुन पुग्यो ।

यो एमालेले हार व्यहोर्नुको प्रमुख दुई कारण छन् । पहिलो–टिकट वितरण न्यायोचित नहुनु र दोस्रो–पार्टी विभाजन । यो पटकको चुनावमा अध्यक्ष केपी ओलीले आफुखुशी टिकट दिएका कारण एमालेले हार व्यहोर्नुपरेको कतिपय नेताहरुको बुझाई छ ।

‘केन्द्रबाट आफुलाई मन परेका व्यक्तिलाई मात्रै टिक दिइयो । आफूखुशी टिकट दिएपछि स्थानीय कार्यकर्ता निराश भए, कार्यकर्ता निराश भएपछि चुनावमा हिड्ने कुरै आएन । त्यसैले देशभर हार व्यहोर्नुपर्यो,’ एक एमाले नेताले भने ।

दोस्रो हो– पार्टी विभाजन । माधवकुमार नेपालको समूह पार्टीबाट छुट्टिएर गएपछि एमालेलाई देशभर असर परेको छ ।माधव नेपाल नेतृत्वको पार्टी एकीकत समाजवादीका कारण एमालेले देशभरिमा १२ देखि १५ लाखसम्म मतदाता गुमाएको छ ।