काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत नेकपा एमाले १४ जिल्लामा पहिलो शक्ति बनेको छ । नतिजा आएको ७४० स्थानीय तहमध्ये २०२ स्थानीय तह जितेर दोस्रो स्थानमा खुम्चिएको एमालेले देशभरका १४ जिल्लामा भने आफ्नो कब्जा जनाउन सफल भएको हो ।
एमाले प्रदेश १ का तीन जिल्लामा पालिका प्रमुख जितेर पहिलो शक्ति बनेको छ । त्यस्तै गण्डकी प्रदेशका चार जिल्ला, मधेस प्रदेशमा दुई, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–१ जिल्लामा पहिलो बनेको छ ।
प्रदेश १
प्रदेश १ का तीनवटा जिल्लामा एमाले पहिलो बनेको छ । कांग्रेसको राजनीतिक विरासत रहेको मोरङमा सबैभन्दा धेरै एमालेले जितेको छ । मोरङका १७ स्थानीय तहमध्ये ९ वटामा एमाले विजयी भएको छ ।
उर्लावारी, पथरी–शनिश्चरे, बेलबारी, रंगेली, लेटाङ, सुनवर्षी र सुन्दरहरैँचा गरी ७ वटा नगरपालिका र कानेपोखरी र केराबारी गाउँपालिकामा पनि एमाले विजयी भएको छ ।
त्यस्तै एमाले अध्यक्ष केपी ओलीको गृहजिल्लामा पनि एमाले पहिलो बनेको छ । झापाका १५ स्थानीय तहमध्ये ७ वटामा एमाले उम्मेदवार विजयी भएका छन् । झापामा एमालेले ६ नगरपालिका र एक गाउँपालिका जितेको छ ।
अर्जुनधारा, कन्काई, गौरादह नगरपालिका, मेची नगर, विर्तामोड र शिवसताक्षी नगरपालिका तथा बाह्रदशी गाउँपालिकामा एमाले विजयी भएको छ । यता एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृहजिल्ला इलाममा पनि एमाले पहिलो बनेको छ ।
इलामका १० मध्ये ५ स्थानीय तहमा एमाले विजयी हुँदा कांग्रेस तीन र एकीकृत समाजवादीले दुईवटा स्थानीय तह जितेका छन् । देउमाई र माई नगरपालिकाका साथै फाकफोकथुम, माइजोगमाई र माङसेबुङ गाउँपालिका एमालेले जितेको छ ।
गण्डकी
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये यो समाचार तय पार्दासम्म ८४ वटा पालिकाको अन्तिम परिणाम आएको छ । ८४ मध्ये ३४ वटामा एमाले विजयी भएको छ । गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, स्याङ्जा र नवलपरासी पूर्वमा एमाले पहिलो भएको छ ।
स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये आँधिखोला, फेदीखोला, बिरुवा, हरिनास, वालिङ र कालीगण्डकी गरी ६ वटामा एमालेले जित्दा ५ वटामा कांग्रेस विजयी भएको छ । नवलपसारी पूर्वका ८ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ भने दुईवटामा मात्रै कांग्रेसले जितेको छ ।
एमालेले कावासोती, देवचुली, मध्यविन्दु नगरपालिकाको प्रमुख र बौदीकाली, बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ । मुस्ताङका ५ मध्ये ४ वटा पालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् भने एउटामा मात्रै कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
मुस्ताङको थासाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र लोमङथाङमा एमालेले जितेको हो । मनाङमा पनि एमाले पहिलो बनेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेस–एमाले दुवैले समान २–२ जिते पनि उपाध्यक्ष र वडाअध्यक्ष जितेका आधारमा एमाले पहिलो बनेको छ । मनाङको चामे र मनाङ डिसेङको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।
मधेस प्रदेश
मधेस प्रदेशको सिरहामा एमालेले सबैभन्दा बढी जित निकालेको छ । १७ वटा पालिका मध्ये १० वटामा एमाले विजयी भएको छ । कल्याणपुर, गोलबजार, धनगढीमाई, सिरहा, सुखीपुर र कर्जन्हा नगरपालिकाका साथै नरहा, भगवानपुर र विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ ।
त्यस्तै पर्सामा पनि एमाले पहिलो बनेको छ । प्रमुख तथा अध्यक्षमा जनता समाजवादी र एमालेले समान ५/५ वटा पालिका जिते पनि उपाध्यक्ष र वडाअध्यक्ष जितेका आधारमा एमाले पहिलो बनेको हाे । पर्सागढी र पोखरिया नगरपालिकाका साथै एमालेले छिपहरमाई, सखुवा र ठोरी गाउँपालिकाको अध्यक्ष जितेको छ ।
बागमती
बागमती प्रदेशको जिल्ला चितवनमा मात्रै एमाले पहिलो भएको छ । चितवनमा ६ स्थानीय तहमध्ये कालिका र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिका एमाले विजयी भएको छ ।
लुम्बिनी
लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा एमाले पहिलो बनेको छ । पाल्पाका १० वटा स्थानीय तहमध्ये ६ वटामा एमाले विजयी भएको छ । निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, माथागढी र रम्भा गाउँपालिकाको अध्यक्ष एमालेले जितेको छ ।
यता एमाले नेता टोपबहादुर रायमाझीको गृहजिल्ला अर्घाखाँचीमा पनि एमाले पहिलो बनेको छ । अर्घाखाँचीका ६ मध्ये ३ स्थानीय तहमा एमाले विजयी भएको छ । जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकासँगै पाणिनी र मालारानी गाउँपालिकामा एमालेले जितेको छ ।
कर्णाली
कर्णाली प्रदेशको डोल्पामा मात्रै एमाले पहिलो दल बनेको छ । डोल्पाका ७ पालिकामध्ये एमाले, माओवादी र नेकपा एसले समान २–२ पालिका जिते पनि उपाध्यक्ष र वडाध्यक्षका आधारमा एमाले पहिलो बनेको हो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र शे–फक्सुण्डो नगरपालिकामा एमाले विजयी भएको छ ।
सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको दार्चुला र बाजुरामा एमाले पहिलो बनेको छ । दार्चुलाका ९ मध्ये ५ र बाजुराका ९ मध्ये ५ स्थानीय तहमा एमाले विजयी भएको छ । बुढीगंगा नगरपालिकाको नतिजा आउन भने बाँकी छ ।
दार्चुलाको दुहुँ, ब्यास र मालिकार्जुन गाउँपालिका, महाकाली र शैल्यशिखर नगरपालिकामा एमाले विजयी भएको छ ।बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकासँगै गौमुल, खप्तड र जगन्नाथ गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।




प्रतिक्रिया