निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण भएन : महन्थ ठाकुर

निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण भएन : महन्थ ठाकुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले निर्वाचन भय, त्रासको वातावरणमा धाँधलीपूर्ण भएको बताएका हुन् ।

‘गोली चलेकै हो, महोत्तरीको मटियानीमा हाम्रो नेता कार्यकर्तामाथि आक्रमण भएकै हो,’ उनले भने, ‘थाहा छैन भने जिल्ला प्रशासन कार्यालयमा गएर बुझ्नुहोस् ।’

नागरिकताविहीनलाई नागरिकता दिने विषयमा नीति तथा कार्यक्रम मौन बसेको भन्दै उनले भने, ‘आफूहरुले किन ६ महिनासम्म आन्दोलन गर्नुपर्‍यो ?, किन हाम्रा नेता कार्यकर्ता अहिले पनि जेलमा छन् ? किन हाम्रो सांसद रेशम चौधरी अहिले पनि जेलमा छन् ?’

आफूहरुको आन्दोलन न्यायका लागि रहेको जानकारी दिँदै उनले राजनीति आन्दोलनमा सहभागी भएकालाई मुद्दा लगाएर जेलमा हालिएको भन्दै आपत्ति जनाए ।

तर, आफ्ना नेता कार्यकर्तामाथि गोली चलाउनेमाथि कारबाही नगरिएर बढुवा गरेको भन्दै उनले सुरक्षाकर्मीलाई सुरक्षा दिने हतियार दिएको कि जनतामाथि प्रहार गर्न भन्दै प्रश्न गरे । न्यायका लागि हतियारविना आन्दोलनमा उत्रिएका आफ्ना कार्यकर्तालाई जेलमा हालिएको भन्दै उनले आक्रोश व्यक्त गरे । भेदभाव रहिरहे फेरि आन्दोलन गर्ने अध्यक्ष ठाकुरको चेतावनी छ ।