काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको पार्टीमा पहिचानको संकट देखिन थालेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले अहिले अरु दल जस्तै माओवादी पनि होकी भन्ने भ्रम उत्पन्न भएको बताएका हुन् ।
‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ । हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।’, उनले भने । प्रचण्डले नेकपा माओवादी केन्द्र संसदवादी पार्टी नभएको पनि दावी गरे ।
‘प्रतिनिधिसभामा छौँ तर हामी संसदवादी होइनौं, संसदवादलाई स्वीकार गरेका होइनौं । यो प्रक्रियालाई सदुपयोग गरेर जानुपर्छ भनेको मात्रै हो । यसबीचमा देखिएको आचरण हाम्रो उद्देश्यसँग मिलेको छैन । रुपान्तरणको सुरुवात यही बिन्दुबाट हुन सक्छ ।’, उनले भने ।
विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि पछिल्लो समय त्यो कम हुँदै गरेको उनको भनाइ छ । ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं । हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो ।’, प्रचण्डले भने ।




प्रतिक्रिया