जनप्रतिनिधिलाई माओवादीको दुई दिने प्रशिक्षण कार्यक्रम आज सकिँदै

जनप्रतिनिधिलाई माओवादीको दुई दिने प्रशिक्षण कार्यक्रम आज सकिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचित जनप्रतिनिधिलाई नेकपा (माओवादी केन्द्र) को दुईदिने प्रशिक्षण कार्यक्रम आज सकिँदैछ । बुधबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम आज साँझ सकिने भएको हो ।

बिहीबारको प्रशिक्षण कार्यक्रमलाई अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएका छन् । उनले ‘आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट’बारे धारणा राख्नेछन् । त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’बारे प्रशिक्षण दिनेछन् ।

‘स्थानीय तहको बजेट निर्माण’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, ‘स्थानीय तहको विद्यालय शिक्षण सिकाइ’, विषयमा सुलभ बुढाथोकी, ‘स्थानीय तहमा विज्ञान प्रविधिको प्रयोग’ विषयमा पार्टीको विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, ‘स्थानीय तहमा सूचना प्रविधि’ विषयमा डा शैलेन्द्र गिरी र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’सम्बन्धमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले प्रशिक्षण दिने कार्यक्रम छ ।

अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक/एक स्थानीय तहका प्रमुखले अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ ।