काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले एमालेले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको लागि सिफारिस गरिएको प्रति आपत्ती जनाएका छन् ।
उनले सोमबार समाजिक सञ्जाल ट्वीटरमार्फत कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गर्नुपर्नेमा पार्टी उल्टो बाटो हिँडेको बताएका हुन् । स्थानीय निर्वाचनको परिणाम सोचेअनुरूप नआएपछि घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए । त्यसपछि भुसाललाई एमाले अनुशासन विभागले कारबाहीका लागि सिफारिससमेत गरिसकेको छ ।
यसैबीच, भुसाल कारबाहीको सिफारिसमा परेपछि रावलले असन्तुष्टि जनाएका छन् । उनले ट्वीट मार्फत भने, ‘उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ’ भन्दै सच्चिन नेतृत्वलाई आग्रहसमेत गरेका छन् ।
‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ, यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ,’ रावलले भनेका छन् । उनले आगामी प्रदेशसभा र संघीय चुनाव एमालेले जित्नुपर्ने र त्यसका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।
‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नुपर्छ,’ रावलले भनेका छन् ।




प्रतिक्रिया