काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आफ्नै पार्टीका केही नेताहरू आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताएका छन् ।
मंगलबार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताएका हुन् ।
त्यसैगरी उनले आफूले मन्त्री पद छाड्न तयार भएको बताए । मन्त्री आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई आफू मन्त्री पद छाड्न तयार भएको कुरा बताएको समेत दावी गरे ।
मन्त्री आलेले आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको उल्लेख गरे । ‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो तर अहिले त आठ महिना भइसक्यो । दुई महिना त ग्रेस मार्क पाइसक्यौं । मैले अरुलाई दिनुस् खुसी हुन्छु भनेँ ।’, उनले भने, ‘तर, हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरु आलेले धेरै चलखेल र्गयो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’
नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो । त्यसलगत्तै नेकपा एसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट गरी मन्त्रिपरिषद पुनर्गठन रोक्न आग्रह गरेका थिए ।




प्रतिक्रिया