गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजी कार्य शुरु

गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजी कार्य शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु- गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको खोजी बुधबार बिहानदेखि काम शुरु गरेको छ । ४ दिनअघि पौडीखेल्ने क्रममा हिमतालमा डुबेर बेपत्ता भएका ३ विद्यार्थीको खोजी गर्न शसस्त्र प्रहरीको गोताखोर टोली गोक्यो हिमताल पुगेको हो ।

मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन् । ४८ मिटर गहिरो सो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिइएको छ ।

मङ्गलबार दिउँसो २ बजे खुम्बु पासाङल्हामु गाउँपालिकाको मच्छेरमुमा अवतरण गराइएको टोली तीन घण्टाको पैदलयात्रा पछि साँझ गोक्यो पुगेको थियो ।

जिल्लामा तालीम प्राप्त जनशक्ति र साधन नहुदा उद्धारमा समस्या भएकाले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खड्काको नेतृत्वको पाँच गोताखोर गोक्यो आएका हुन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि, प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेशसभा (क) का सांसद उत्तमकुमार बस्नेत र प्रदेशसभा (ख) का सांसद बुद्धिकुमार राजभण्डारीको पहल तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा गृहमन्त्रालयले गोताखोरको टोली गोक्यो पठाएको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

उद्धारका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा खुम्बु पासाङल्हामु गाउँपालिकाले लिएको छ । भौगोलिक विकटताको कारण पैदलयात्रामार्फत पुग्न सक्ने सम्भावना नभएपछि हेलिकोप्टरको माध्यमबाट आउने जाने गरिएको छ । हेलिकोप्टरसहितको व्यवस्थापनको सम्पूर्ण कामको जिम्मेवारी खुम्बु पासाङल्हामु गाउँपालिको लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउँदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षकलाई निलम्बन गरिएको छ । गाउँपालिकाको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए ।