काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको विषयमा सरकारको जवाफ मागेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालले प्रधानमन्त्री देउवा देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तापक्षका प्रमुख सचेतकले विषय उठाएको बारे प्रधानमन्त्रीको जवाफ माग गरे ।
सत्तापक्षका प्रमुख सचेतकले बिहीबार संसदमा रक्षा मन्त्री समेत रहेका प्रधानमन्त्री देउवाको भ्रमणमा राष्ट्रिय सुरक्षा संम्बन्धी विषयमा बोलेका थिए । त्यो विषयलाई लिएर नेकपा एमालेले देउवाको अमेरिका भ्रमणबारे प्रश्न उठाएको हो । ‘सत्ता पक्षका प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्न आग्रह गरेको कुरालाई हामीले कसरी बुझ्ने । यो विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने लाग्छ ।’, ज्ञवालीले भने ।
प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे सदनलाई जानकारी नदिएकोसमेत उनले गुनासो गरे । ‘यो भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपर्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय । भ्रमणको चाँजोपाँजो मिलाइरहेको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले होस सेना त्यसमा जोडिएको छ¬ । यसले गम्भीर प्रश्न उठेको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ या रक्षामन्त्रीको हैसियतले ? रक्षामन्त्रीको हैसियतले हुँदैछ भने त्यसको विषयमा पनि सदनले थाहा पाउन जरुरी छ ।’, उनले भने ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले देउवाको अमेरिका भ्रमणबारे र त्यहाँ हुने भनिएका सम्झौताको चर्चाले नेपालको परराष्ट्र नीतिमा खलल पुग्ने हो कि भन्ने आशंका पनि जनाएका छन् ।




प्रतिक्रिया