देउवा र लोसपाका नेताहरुबीच भेटवार्ता, बाबुराम भट्टराई समूह पनि बालुवाटार जाँदै

देउवा र लोसपाका नेताहरुबीच भेटवार्ता, बाबुराम भट्टराई समूह पनि बालुवाटार जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतका नेताहरूले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार लोसपा नेताहरूसँग पछिल्ला दिनमा लगातार छलफल भइरहेको छ । उनीहरुले गत मंगलबार पनि प्रधानमन्त्रीलाई भेटेर ११ बुँदे मागपत्र बुझाएका थिए । उनीहरुले नागरिकता विधेयक, संविधान संशोधन, थुनामा रहेका रेशम चौधरीको रिहाई, थारुहटरमधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग अघि सार्दै आएका छन् । प्रधानमन्त्री देउवाले उनीहरुलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

स्राेतका अनुसार प्रधानमन्त्री देउवाले आफ्ना माग सम्बोधन गरे अध्यक्ष ठाकुर पनि सरकारमा सहभागि हुन तयार भएका छन् । प्रधानमन्त्रीको तर्फबाट दुई मन्त्रालय र उपसभामुखको प्रस्ताव लोसपालाई गरिएको थियो । लोसपा नेताहरुले सरकारमा सहभागी हुनका लागि वातावरण बनाउन देउवालाई आग्रह गरेका थिए । उनीहरूको आग्रह अनुसार नै प्रधानमन्त्रीले नागरिकता विधेयक अघि बढाउने र मधेश आन्दोलनका मुद्दा फिर्ता लिने प्रक्रिया पनि सुरु गरेका छन् ।

यसै विषयमा आज उनीहरुबीच छलफल भएको हो । साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । तराई मधेश संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले जानकारी दिए ।

त्यसै आज प्रधानमन्त्री देउवाले जनता समाजवादी पार्टी (जसपा)का विद्रोही खेमासँग भेटवार्ता गर्ने भएका छन् । त्यसका लागि जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराई समूह पनि बालुवाटार जाँदै छन् । बाबुराम नेताद्धय राजकिशोर यादव र महेन्द्र यावदसहित बालुवाटार जाँदै छन् ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच गत पुषदेखि सुरु भएको टकरावले जसपा न फुट्न सकेको छ, न त एक भएर अघि बढ्न सकेको छ । बाबुराम समूहले आफूहरूसंग बहुमत सांसद र बहुमत केन्द्रीय सदस्य भएको दाबी गर्दै आएका छन् ।