बालकोटमा नारायणकाजीकाे दुई घण्टा : एमाले र माओवादीबीच सम्बन्ध सुधारको प्रयास

बालकोटमा नारायणकाजीकाे दुई घण्टा : एमाले र माओवादीबीच सम्बन्ध सुधारको प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।

अध्यक्ष ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।

‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन् । ओली र श्रेष्ठबीच यसै विषयमा छलफल भएको हुनुपर्छ,’ बजगाईले भने । अमेरिकी सहयोग परियोजना एमसीसी पास पाएपछि पछिल्लो समय नेपालमा अमेरिकी कूटनीति र नेताहरूको भ्रमण बाक्लिएको छ ।

स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ । दुवै नेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सिर्जना गरेको छ । श्रेष्ठ माओवादी अध्यक्ष प्रचण्डको अनुमति लिएर ओली भेट्न गएको स्रोतले बतायाे ।

धेरैले यसलाई वाम गठबन्धनबारे छलफल सुरु भएको अर्थमा बुझेका छन् भने एमाले र माओवादीबीच सम्बन्धसुधारको प्रयासअन्तर्गत श्रेष्ठले ओलीलाई भेटेको बताइएको छ । कांग्रेससहितको गठबन्धन भत्काउन प्रयास गरिरहेको एमालेले पछिल्लो दिन आफ्ना शीर्ष नेताहरुलाई माओवादीको दोस्रो तहका नेताहरुसँग छलफल गर्न पठाएको छ । यसैक्रममा शनिबार एमाले उप महासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग दुईघण्टा छलफल गरेका थिए ।