काठमाण्डु – नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका समयमा सत्ता गठबन्धन दलभित्र ७ प्रकारका समस्या देखिएको निष्कर्ष निकालेको छ ।
आजदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष माधव नेपालले १३ पेज लामो चुनावी समीक्षा प्रतिवेदनमार्फत गठबन्धनभित्र विभिन्न ७ प्रकारका समस्या देखिएको किटान गरेका हुन् ।
प्रतिवेदनमा उल्लेख भए अनुसार गठबन्धन गर्न नै नचाहने, गठबन्धनको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमानदारीपूर्वक भोट नहाल्ने र गठबन्धनबाहिरका दलसँग तालमेल गर्ने समस्या देखिएको उल्लेख छ ।
त्यस्तै गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर रहेको र गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्ने प्रवृत्ति रहेको निष्कर्ष अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । नेपालले यस्तो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी देखिएको उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालको प्रतिवेदनमा आफ्नो पार्टीका उम्मेदवारहरूले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ रहेको उल्लेख गरेका छन् । ‘यो मतमध्ये आधा गठबन्धनका अन्य दलहरूको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिव पाँच लाख मत हामीले प्राप्त गरेका छौं’, नेपालको प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया