सांसद प्रेम सुवालको दावी- एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ

सांसद प्रेम सुवालको दावी- एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ


काठमाण्डु – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको एसपीपीमा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले एमसीसी राष्ट्रघाती सम्झौता भएको र एमसीसीपछि अब हुन लागेको एसपीपी सम्झौतामा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने, बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने लगायतका विषयहरु समेटिएको दाबी गरेका छन् ।

‘एमसीसीपछि हुन लागेको एसपीपीमा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने, गाडीसँगै हवाइजहाज पनि ल्याउने भनिएको छ,’ सांसद सुवालले भने, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लाने होइन । सरकारमा गएका पार्टी र नेताहरुलाई हातमा लिएर शासन गर्ने हो ।’

रुस पन्ध्र टुक्रामा विभाजित भएको विषय किन बुझ पचाइएको भन्दै उनले प्रश्न गरे । ‘सत्तालोलुप नेताहरुकै कारण रुसमा पुजीँवादका पुनस्थापना भएको र देश पन्ध्र टुक्रा भएको किन बुझ पचाउनुभयो ?’, उनले भने ।

साथै उनले राजधानीलगायत देशका ठूला सहरमा हुने बसाईसराई रोक्न माग गरेका छन् । ठूला सहरमा भूकम्प, खानेपानी समस्या, बायु प्रदुषण, अपराध लगायतका समस्या बढिरहेको भन्दै उनले काठमाण्डु लगायतका घना सहरमा हुने बसाइसराई रोक्न जरुरी रहेको बताएका हुन् ।