एमाले नेतृत्वको सरकारले कार्यदल बनाएर एसपीपीलाई स्थगन गरेको हो : प्रदीप ज्ञवाली

एमाले नेतृत्वको सरकारले कार्यदल बनाएर एसपीपीलाई स्थगन गरेको हो : प्रदीप ज्ञवाली


काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकारले कार्यदल बनाएर एसपीपीलाई स्थगन गरेको दावी गरेका छन् ।

मदन भण्डारी फाउण्डेसनले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले नेता ज्ञवालीले सन २०१९ मा इन्डो प्यासिफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रुपमा राखेको पाइएपछि एमाले नेतृत्वको सरकारले कार्यदल नै बनाएर एसपीपीलाई स्थगन गरेको दावी गरे ।

उनले नेपाली सेनाले राजनीतिक नेतृत्व र तालुकदार मन्त्रालयलाई जानकारी नदिएर अमेरिकालाई पत्र पठाएको बताए । त्यसबारेमा सरकारले स्पष्ट पार्नुपर्ने ज्ञवालीको भनाई थियो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत नभेटिएको बताए । उनले नेपाली सेनाले एसपिपीबारे निर्देशन पाऊँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार भने गरेको र रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको जानकारी समेत दिए ।

ज्ञवालीले मुलुकको हितविपरीत नेपाल शक्ति राष्ट्रकोे रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका हुन् ।