चर्चामा एसपीपी बहस : ‘एमसीसीजस्तै व्याख्यात्मक घोषणा गरेर पास गर्न खोजिएको त होइन ?’

चर्चामा एसपीपी बहस : ‘एमसीसीजस्तै व्याख्यात्मक घोषणा गरेर पास गर्न खोजिएको त होइन ?’


काठमाण्डु – पछिल्लो समय अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामेल हुने विषयले नेपाली राजनीतिक बृत तातिएको छ ।

यतिमात्र होइन तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाललाई एसपीपीमा सहभागी गराउन लेखेको पत्र सार्वजनिक भएपछि यो राष्ट्रिय बहसको विषय नै बनेको छ । एसपीपी हिन्द प्रशान्त रणनीतिको अंग भएको भन्दै यस विषयमा विभिन्न टिकाटिप्पणी, शंका–उपशंका भइरहेका छन् ।

यस्तोमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशंका व्यक्त गरेकी छन् । आइतबार समितिको बैठकमा छलफलका लागि बोलाइएका प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि उनले सो आशंका व्यक्त गरेकी हुन् ।

‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौं । सदनमा कुरा उठेको थियो तर प्रधानमन्त्रीले सदनमा आफ्नो धारणा दिनुभएन । सम्बन्धित समिति भएको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कारणले गर्दा प्रधानमन्त्रीलाई आमन्त्रण गरेका हौं । उहाँको तर्फबाट जवाफ पाउने आशा र अपेक्षा गरेका हौं । हामीले के चाहेका थियौं भने प्रधानमन्त्री सेनापति र परराष्ट्रमन्त्रीलाई बोलाउने भनेका हौं,’ उनले भनिन्, ‘कतिपय सवाल अतिरञ्जित भएर आएका होलान्, कतिपय सवाल गलत ढंगले आएका होलान् ती सबैको जवाफ आधिकारिक रूपमा आओस् भन्ने हाम्रो धारणा हो ।’

निरौलाले नेपाल सधैं स्वतन्त्र रहन चाहेको बताइन् । ‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो । प्रधानन्त्रीलाई फेरि आमन्त्रण गरौं । एमसीसी ब्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? यस्तो आशंका जनताले पनि गरिरहेका छन् । नेपाल सधै स्वतन्त्र रहन चाहन्छ,’ उनले भनिन् ।
गत बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा पनि देउवाले एसपीपीबारे जानकारी दिने कार्यसूची थियो । तर उनी सदनमा उपस्थित नै भएनन् ।
संसदमा उपस्थित नभएपछि उनलाई आइतबार समितिको बैठकमा छलफलका लागि बोलाइएको थियो । तर, देउवा आज बसेको समितिको बैठकमा पनि उपस्थित भएनन् ।

बरु उनी बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफलमा व्यस्त भए । पछिल्लो समय एसपीपी सम्झौताका विषयमा विभिन्न प्रश्नहरु उठिरहेका बेला प्रधानमन्त्री देउवा भने छलफलका लागि बोलाइएका बैठक छल्दै आएका छन् ।

 बैठकमा उपस्थित नभएपछि नआउनुको नहुनुको कारण सोध्ने समेत समितिले निर्णय गरेको छ । पछिल्लो समय राजनीतिक वृत्तमा तरंग ल्याएको एसपिपीबारेको छलफलमा प्रधानमन्त्री नआएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का समिति सदस्यहरूले आलोचना गरेका थिए ।

एमाले सांसद ईश्वर पोखरेलले समितिले डाकेको बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक भएको बताएका थिए। अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले समितिलाई इग्नोर गर्न नमिल्ने उल्लेख गरेका थिए।

कांग्रेस सांसदहरूले भने बैठकमा प्रधानमन्त्री नआउनु सामान्य कुरा भएको भन्दै यसबारे कुनै निर्णय गर्नु नपर्ने तर्क गरेका थिए । सुरूमा समितिले प्रधानमन्त्री संसदीय समितिमा नआउनु लोकतन्त्र र संसदीय व्यवस्थाकै लागि प्रतिकुल भएको व्यहोरासहितको निर्णय गर्न लागेको थियो। तर, समितिमा सांसदहरूबीच चर्काचर्की सुरू भयाे ।

एक घन्टाभन्दा बढी समय सांसदहरूले वादविवाद गरेपछि समिति सभापति  निरौलाले हो–हल्लाबीच प्रधानमन्त्री देउवालाई अनुपस्थित हुनुको कारण सोध्ने निर्णय सुनाएकी थिइन्। समितिले एसपिपीबारे यसअघि गत शुक्रबार परराष्ट्र नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको थियो।