एसपीपी फिर्ता लिने वा नलिनेबारे गठबन्धनमा छलफल भएको छैन: माधव नेपाल

एसपीपी फिर्ता लिने वा नलिनेबारे गठबन्धनमा छलफल भएको छैन: माधव नेपाल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपीपी फिर्ता लिनेबारे सत्ता गठबनधन दलहरुबीच छलफल नभएको बताएका छन् ।

आइतबार विभिन्न सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताएका हुन् । नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न खडा भएको छ । सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन ? त्यसमा को कसको भूमिका थियो भन्ने बारेमा छलफल हुनुपर्छ’ उनले भने ।

त्यसैगरी अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको दावी गरे । ‘प्रधानमन्त्रीले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन । यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’, उनले भने । पछिल्लो समय एसपीपी सम्झौता विवादमा तानिएको छ । राजनीतिक दलहरुले एसपीपी सम्झोताबारे एक अर्कालाई दोष लगाउँदै आइरहेका छन् ।