एकीकृत समाजवादीका मन्त्रीलाई राजीनामा दिन देउवाको सुझाव, नदिए बर्खास्त गर्ने चेतावनी

एकीकृत समाजवादीका मन्त्रीलाई राजीनामा दिन देउवाको सुझाव, नदिए बर्खास्त गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई राजीनामा दिन सुझाव दिएका छन् । हालै एकीकृत समाजवादीका मन्त्रीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिन सुझाव दिएका हुन् ।

असार १ गते बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले सरकारमा रहेका पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय अनुमोदन गरिसकेको छ । यस्तो अवस्थामा अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्यन गर्न आइतबार पुनः ताकेता गरेपछि प्रधानमन्त्री देउवाले पर्यटनमन्त्री आले लगायतसँग भेट गरी मन्त्री हेरफेर गर्ने विषयमा राजीनामा दिन सुझाव दिएका हुन् ।

पार्टीले आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय गरेको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले कार्यान्वयन नगरेपछि नेता नेपाल प्रधानमन्त्रीसँग रुष्ट छन् । स्रोतका अनुसार उनले बुधबार साँझसम्म आफ्ना मन्त्रीहरु हेरफेर गर्न गर्न देउवालाई अल्टिमेटम दिएका छन् । देउवाले कहिले माओवादीलाई देखाएर त कहिले अन्य कारण देखाएर नेकपा एसको निर्णय कार्यान्वयन गर्न मानेका छैनन् ।

उनी असार अन्तिममा अमेरिका जाने तयारीमा छन् । त्यसकारण पनि उनी आफ्नो अमेरिका भ्रमणअघि मन्त्रिपरिषद पुनर्गठन गर्न चाहादैनथिए । समाजवादीका मन्त्री फेर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देउवाले रोकेर राखेको स्रोतले बतायो । एकीकृत समाजवादीका मन्त्रीहरु फेर्दा माओवादी र काँग्रेसभित्र पनि दबाव पर्ने देखिन्छ ।

त्यसैकारण देउवा र प्रचण्ड दुबैले आपसी मिलेमतोमा एकीकृत समाजवादीको निर्णयलाई लड्काएर राखेका हुन् । तर, माधव नेपालको दवावका बीच देउवालाई नेकपा एसको निर्णय कार्यान्वयन गर्नेपर्ने दवाव छ । त्यसैले उनले पर्यटनमन्त्री लगायतसँगको भेटमा राजीनामा दिन सुझाव दिएका हुन् । राजीनामा नदिए आफुलाई अफ्ठ्यारो पर्ने भन्दै देउवाले बर्खास्त गर्ने चेतावनी समेत दिएको स्रोतले बतायो ।

एकीकृत समाजवादीले गत जेठ २३ गते नै पुरानालाई फिर्ता बोलाएर नयाँ ४ जनाको नाम देउवालाई बुझाइसकेको छ । देउवा सरकारमा एकीकृत समाजवादीका तर्फबाट सहभागी ५ मन्त्री र एक राज्यमन्त्रीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र गोविन्द बन्दी र भवानी खापुङ सहभागी छन ।

पछि कानूनमन्त्री बनेका बन्दी र राज्यमन्त्री खापुङ बाहेक अन्य चार जनालाई फिर्ता बोलाएर उनीहरूको स्थानमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने पार्टीले सिफारिस गरेको छ । तर ती मन्त्रीहरुको सूचीमा पनि केही हेरफेर हुनसक्ने सम्भावना रहेको स्रोतले बतायो ।

स्रोतका अनुसार आगामी ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले फेरिने नयाँ मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी गरेको छ । एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई ६ महिनाका लागि मात्रै भनेर सरकारमा पठाएको थियो । तर हालसम्म पनि उनका पार्टीका मन्त्री फिर्ता भएका छैनन् । कतिपय मन्त्रीहरु फिर्ता आउन तयार छन् भने कतिपयले फिर्ता बोलाए पार्टी नै छाड्ने जस्ता धम्की दिएका छन् ।