काठमाण्डु – मन्त्री भएदेखि नै अनेकौं फण्डा, क्रियाकलाप र अश्लिल अभिव्यक्ति दिएर बेला बेलामा बिवाद र चर्चामा आउने व्यक्ति हुन् वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारका पर्यटनमन्त्री प्रेम आले ।
२०७७ पुषमा पहिलोपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा वन मन्त्री हुँदा रुखलाई अक्सिजन दिने अभिव्यक्ति दिएर निकै चर्चामा आएका मन्त्रीआले आजपर्यन्त अनेकौं कारणले चर्चामा छन् । ‘नाम होस् या बदनाम होस् तर गुमनाम नहोस्’ यो प्रसिद्ध भनाइलाई उनले बेला बेलामा चरितार्थ प्रमाणित गरिदिन्छन् ।
कतिपय सन्र्दभमा सकारात्मक कामसमेत गरेका आले देउवा सरकारमा मन्त्री भए लगत्तै नारायणहिटी र पशुपतिबाट बतास समूहलाई निकालेर सबैको प्रशंसा बटुलेका थिए । यही समयमै भारतमा कार्यरत एक युवालाई अश्लिल शब्द प्रयोग गरि विवाद पनि आएका थिए ।
हालै उनी सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यसको कारण हो– भिडियोमा प्रयोग भएको अति अश्लिल शब्द । मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल शब्दको प्रयोग गरी गालीगलौज गरेको अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल छ ।
उनले प्रयोग गरेको शब्दको स्तर हेर्दा मन्त्रीलाई शोभनीय हुने खालको पटक्कै देखिँदैन । निम्नस्तरको अपशब्द प्रयोग गरि आले गाली गलौजमा उत्रेका छन् । तर, उनलाई यस विषयमा नत डर छ नत पश्चाताप, नत लाज नै छ । यो घट्नापछि बरु उनी अझै अराजक बन्दै गएको आँकलन गर्न सकिन्छ । मन्त्रीको पदमा बसेर यति विघ्न उदण्ड हुँदासमेत उनलाई लगाम लगाउने सरकार र उनको पार्टा नेकपा एकिकृत समाजवादीले एक शब्द पनि बोल्न सकेको छैन ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल त उनको विषयमा बोल्नै डराएका छन् । आइतबार सम्पादक तथा पत्रकारहरुसँग भएको छलफलमा पनि उनले यसबारे टिप्पणी समेत गर्न चाहेनन् । ‘मान्छेका बारे सोध्दा जवाफ दिन गाह्रो हुन्छ । यति मात्र भन्छु, कुनै पनि कुरा बोल्दा विचार पु¥याएर बोल्नुपर्छ,’ उनले भनेका थिए ।
नेता नेपालको यही भनाईलाई आधार बनाएर कतिपय मिडियाले समाचार बनाए । तर आलेले प्रायश्चित गर्नुका साटो गर्वका साथ तिनै समाचारलाई ट्वीटरमा सेयर गर्दै अव ‘मुक्का हान्छु’ भन्दै उल्टै धम्की दिएका छन् । उनले समाचार सेयर गर्दै लेखेका छन्–‘हस बरु मुक्का हान्ने अब । म.मा. मु.भन्ने शब्द नै उच्चारण गर्दिनँ ।’
उनको यो अभिव्यक्तिले उनी थप अराजक बन्दै गएको देखाएको कतिपयको टिप्पणी छ । यतिमात्र होइन उनले यसअघि पनि दर्जनौं विवादित अभिव्यक्ति दिएर चर्चामा आएका थिए । उनले पहिलोपटक मन्त्री हुँदा तत्कालिन प्रधानमन्त्री ओलीकै अगाडी भनिदिए, ‘यो सरकार अब सात गियरमा दौडिन्छ ।’
आफैँ गाडी हाँकेर हिड्ने आलेले गाडीमा कति गियर हुन्छ, भन्ने पनि सामान्य नजरअन्दाज नगरी सरकार ७ गियरमा दैडिने भाषण ठोके । उनको त्यो भाषणले उल्टै सरकारलाई नै गिज्याउने मसला बन्यो । उनले गरेको भाषणका ती टुक्का पछि सामाजिक सञ्जालहरूमा भाइरल बन्यो । टिकटकहरूमा धेरै ‘उठन्ते’ का रुपमा त्यसलाई लिन थालिएको थियो ।
२०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा चुनावमा डोटीबाट निर्वाचित सांसद आलेमाथि मन्त्री बन्नकै लागि गुट बदलेको आरोप पनि लाग्यो । ‘नयाँ जोगीले खरानी धेरै घस्छ’ भन्दै उनको धेरै ठाउँमा आलोचना पनि भएको थियो ।
आजसम्म आलेले जति चर्चा कमाए त्यो सबै उनको बोली चिप्लिदा भएका हुन् । आलेले बोलीमा लगाम लगाउन सकेनन् । सायद यो अवधिमा उनले जति चर्चा समाजिक सञ्जालहरुमा सेलीब्रेटीले पनि कमाएका छैनन् । कहिले हात्तीमाथि चढेर गैँडा गणना गर्दै गरेको फोटो सार्वजनिक गरेर चर्चामा आउने आले अक्सिजनको सिलिण्डरमा आफ्नो फोटो टाँसेर पनि चर्चामा आए ।
तर, उनको बोली यति चिप्लियो कि उनले नै आफूले के बोले भन्ने भेउसम्म पाएनन् । त्यत्तिमै मात्र आलेको चर्चा रोकिएन । उनले सामुदायिक वन उपभोक्ता महासंघको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा गरेको अर्को सम्बोधनले उनलाई फेरि चर्चामा ल्याउने काम गर्यो ।
माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । तर, त्यो कार्यक्रम खारेज नगर्न भन्दै आफूलाई मन्त्री भएकै दिनबाट आर्थिक प्रलोभन देखाइएको बताएका थिए । उनले एक अर्ब घुसको कुरा आफूलाई मन्त्री बनेकै दिनबाट आएको खुलासा गरेका थिए ।
उनले भनेका थिए, ‘जुन दिन मैले पदको बहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखि, वनका केही बद्मास कर्मचारीदेखि साराले मलाई भेट्ने प्रयास गरे, मैले कसैलाई भेटिनँ, कसैलाई पनि भेट्दिनँ भनेँ, मैले कसैलाई भेट्दा पनि भेटिनँ, पछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी एक अर्ब पैसा उठाएर दिन्छौँ भन्ने आयो । अनि मैले भनेँ एक अर्ब पैसा समातेर आफ्नो मुखमा कालोमोसो आफै दल्ने मैले ? हुँदैन भनेर मैले इन्कार गरेँ ।’
यस्तै, कोरोना भाइरस (कोभिड १९)का कारण अक्सिजनको हाहाकार चलिरहेका बेला मन्त्री आलेले पशुपतिनाथमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको शव जलाउन दाउराको अभाव हुन नदिने अभिव्यक्ति दिए । यसले पनि आलेको आलोचना भयो । सरकार अक्सिजनको जोहोमा जुट्नु पर्ने बेलामा कोरोनाबाट निधन भएकाको शव जलाउन दाउरा कमी हुन नदिने भनी बोल्दै हिँडेको भन्दै उनको आलोचना भएको थियो ।
कहिले हात्तीमाथि चढेर गैँडा गणना गर्दै गरेको फोटो सार्वजनिक भएपछि चर्चामा आउने आले कहिले अक्सिजनको सिलिण्डरमा आफ्नो फोटो टाँसेर पनि चर्चामा आए । यतिमात्र हैन चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा आफूले सहयोग गरेको भन्दै उनले आफ्नो फोटो टाँसेर पठाए ।
कैलाली र डोटीको अस्पतालमा वितरण गरेका अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्रीमा आफ्नो फोटो राखेर पठाएपछि उनको निक्कै नै निक्कै आलोचना भएको थियो । मन्त्री आलेले आफ्नो बोलीलाई लगाम दिन नसक्दा यस्ता कयौं प्रशंसा र आलोचना खेपेका छन् ।




प्रतिक्रिया