जता मन्त्री पद त्यतै प्रेम आले !

जता मन्त्री पद त्यतै प्रेम आले !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एमालेमा प्रवेश गर्ने भित्रि तयारी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेका बेला आफू मन्त्रीबाट बाहिरिने भएपछि उनी एमाले फर्किनको लागि आन्तरिक लविङ गर्दै आएको बुझिएको छ । एमाले विभाजन हुँदा आले माधव नेपाल पक्षमा खुलेका थिए ।

गत वर्ष असार २८ गते प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिने क्रममा देउवालाई मत दिएका आले पुन एमालेमै फर्किने तयारी गरेको स्रोतले बतायो । उनले पुरानै पार्टी एमालेमा फर्कन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाएका छन् ।

पदको लोभ छैन भन्दै भाषण दिँदै हिड्ने तीनै आले मन्त्रीबाट फिर्ता बोलाउने तयारी गरेपछि अध्यक्ष नेपालसँग असन्तुष्ट छन् । उनले माधव नेपालसमक्ष आफुलाई मन्त्रीबाट फिर्ता बोलाए पार्टी छोड्ने समेत चेतावनी दिएको स्रोतले बतायो ।

उनी आज बिहान मात्रै कोटेश्वर पुगेर माधव नेपालमाथि खनिएका छन् । दुई जना सांसदसहित नेपाल निवास पुगेका मन्त्री आलेले स्थायी कमिटीको निर्णय सच्चाउनुपर्ने माग राखेका छन् ।

आक्रोशित हुँदै उनले धनबहादुर बुढालाई मन्त्री बनाइए आफु सरकारबाट फिर्ता हुने नेपालसमक्ष शर्त राखेका थिए । ‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’, उनले भनेका थिए, ‘हामीलाई हटाउने हो भने एकजना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाइयोस् । नत्र हामी सरकारबाट फिर्ता हुँदैनौं ।’

आलेले गृहजिल्ला डोटीका एकीकृत समाजवादीका नेताहरूलाई ओलीसँग भेट्न समेत पठाएकाे बझिएको छ । एकीकृत समाजवादी डोटीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीसहितका नेताहरूले बालकोट पुगेर ओलीसँग छलफल गरेको स्रोतले बतायो ।

यस्तै, आले आफैँले पनि ओलीको विश्वास पात्र समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि निरन्तर छलफल गरेका छन् । केही दिनअघि यता मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा चलिरहँदा आलेले नेम्वाङसँग प्रत्यक्ष र टेलिफोन सम्वाद गरिरहेका विश्वस्त स्रोतले जनाएको छ ।

डोटीका आले  पहिलोपटक तत्कालीन नेकपाको सरकार हुँदा वनमन्त्री भएका थिए । तर तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उनी एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । पछि आफुलाई प्रधानमन्त्री बनाउन सघाएको भन्दै प्रेम आले लगायत नेकपा एसका नेताहरुलाई देउवाले मन्त्री बनाएका थिए ।

त्यस्तै २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा चुनावमा डोटीबाट निर्वाचित सांसद आलेमाथि मन्त्री बन्नकै लागि गुट बदलेको आरोप पनि लाग्यो । ‘नयाँ जोगीले खरानी धेरै घस्छ’ भन्दै उनको धेरै ठाउँमा आलोचना पनि भएको थियो ।

यसो त सरकारबाट फिर्ता बोलाउने तयारी भएपछि पर्यटनमन्त्री आले र श्रममन्त्री किसान श्रेष्ठले ओलीलाई भेटेको चर्चा पार्टीभित्र चलेको थियो । कुनै बेला एमाले भत्काउने षड्यन्त्रमा सामेल भएका आले अहिले मन्त्री पद जाने देखिएपछि त्यहि एमालेमै फर्किने तयारीमा छन् ।