वामदेवको पार्टीमा ‘परिवारवाद’ हावी, छोरा र श्रीमतीसहित ४ जना केन्द्रीय सदस्य

वामदेवको पार्टीमा ‘परिवारवाद’ हावी, छोरा र श्रीमतीसहित ४ जना केन्द्रीय सदस्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समिति घोषणा भएलगत्तै विवादमा परेको छ ।

नेता गौतमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर घोषणा गरेलगत्तै उनको पार्टीमा परिवारवाद हावी भएको भन्दै विवादित बनेको हो ।

७५ जना केन्द्रीय समिति सदस्य रहेको नयाँ पार्टीमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।

गौतमका छोरा हरिसदेवको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ । त्यस्तै, उनका पिए दिपकुमार टमाटा केन्द्रीय सदस्यको सूचीमा छैटौँ नम्बरमा छन् ।

पार्टी घोषणाको दिन नै विवादमा परेपछि नेता गौतमले आफ्नो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य नभएको दावी गरे ।

आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणाम भएको उनको भनाई छ ।

उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन् तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन् । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ ।’

कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए । साथै, आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे ।