काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीलतनिवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् ।
उनले मलको समस्या समाधानका लागि दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन् । त्यस्तै मनसुनको सिजन सुरु भएर बाढी–पहिरोका खबर आउन लागेको भन्दै उनले सरकारको तयारीबारे जिज्ञासा राखेकी थिइन् । जवाफमा देउवाले सरकारका निकायहरू अलर्ट अवस्थामा रहेको बताएका थिए ।
यस्तै, राष्ट्रपतिले काठमाण्डु उपत्यकामा हैजा देखिएको अवस्थामा यसलाई फैलिन नदिन आवश्यक सतर्कता अपनाउन जोड दिइन् । भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो समय चर्चामा रहेको एसपीपीका विषयमा पनि चासो राखेको स्रोतको दाबी छ ।
उनले ‘एसपीपी’ को उच्चारण नगरीकन नेपालको असंलग्न परराष्ट्र नीतिमा आँच आउन दिनु नहुनेबारे प्रधानमन्त्रीलाई सम्झाएकी थिइन् । जवाफमा प्रधानमन्त्रीले एसपीपीको विषयमा सबै दलहरूबिच समान धारणा रहेको भन्दै यसको समाधान भइसकेको प्रस्ट पारेका छन् ।
यस्तै, राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् । संसद्मा पेस भएको महाअभियोग प्रस्तावलाई छिटो निकास दिनुपर्नेमा उनले जोड दिएकी छन् । राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए ।




प्रतिक्रिया