‘नैतिकता’ गुमाउँदै एकीकृत समाजवादीको राजनीति

‘नैतिकता’ गुमाउँदै एकीकृत समाजवादीको राजनीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  गत असोज २२ गते शहरी विकास मन्त्री बनेकी नेकपा एकीकृत समाजवादी (एस) पार्टीकी नेत्री रामकुमारी झाँक्री असार १२ गते पदमुक्त भइन् । उनको ठाउँमा मेटमणि चौधरीलाई नयाँ मन्त्री बनाइयो । मन्त्रीबाट झाँक्रीलाई किन हटाइयो ? चौधरीलाई किन मन्त्री बनाइयो ? एकीकृत समाजवादी भित्रबाट सहजै जवाफ आउँछ – सबैको पालो पुर्‍याउन ।

नेकपा एमाले विभाजन गरेर बनेको एस पार्टी यतिबेला मन्त्री बन्ने पालो पुर्‍याउन केन्द्रित भएको छ । निर्वतमान मन्त्री प्रेमबहादुर आले र झाँक्रीले आफूले राम्रै काम गरेकाले मन्त्रीमा कायमै रहनुपर्ने माग राख्दै खुबै पहल गरे तर कसैको केही चलेन । बिदाइ कार्यक्रममा झाँक्री धुरुधुरु रोइन् । समाजवादीको आलोपालो प्रणालीसामु सबै निरीह भए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मन्त्रिपरिषद् हेरफेर गर्न रुचि देखाएका थिएनन् तर गठबन्धन दलको दबाबसामु उनी पनि निरीह हुन पुगे ।

मन्त्रीको कार्यसम्पादन, जनपक्षीय काम, नीतिविधि र पार्टीको प्रतिबद्धताभन्दा पालो पु¥याउने उद्देश्य मुख्य बनेको छ । गठबन्धन दलकै नेताहरूले यसको विरोध गरेका छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सोमबार आयोजित एक कार्यक्रममा भने, ‘एउटा पार्टीमा सरकारका मन्त्री भएका छन्, ४ दिन काम गर्न पाएका छैनन्, त्यसलाई हटाउनुपर्ने फेरि–फेरि पालैपालो पुर्‍याउनुपर्ने त्यो पनि पार्टी सिस्टम हो ? सबैको पालो पुग्नुपर्ने मन्त्री बन्नलाई ? कहाँ त्यस्तो हुन्छ ? त्यस्तो सबैको पालो पुग्ने कुरा हुँदैन । म एउटा प्रश्न भन्न चाहन्छु-आज समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? आउँछ यो देशमा ? कसरी आउँछ ? मैले भनिरहेको छु हामी समाजवादमा गइरहेका छौं कि ? हामी के आचरण र व्यवहार गरिरहेका छौं । हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ कि आउँदैन त्यो महत्त्वपूर्ण कुरा छ ।’

प्रदेशमा भागबण्डा पुर्‍याउन मन्त्रालय टुक्राटुक्रा !

एकीकृत समाजवादी बनेदेखि नै भागबण्डाको लुँछाचुँडी हुँदै आएको छ । एकीकृत समाजवादीबाटै मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा पुर्‍याउन ८ मन्त्रालय टुक्र्याएर १४ बनाए । एसकै १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्री संख्या बढाएर १३ पु¥याए ।

गतिविधि हेर्दा नेकपा एस पार्टी भागबण्डा पाउन, मन्त्री संख्या बढाउनकै लागि पार्टी विभाजन गरेर सत्तारुढ गठबन्धनमा गएको देखिन्छ । नेकपा एमालेमा रहँदा पर्याप्त हिस्सेदारी नपाएको गुनासो नेता माधवकुमार नेपालले पटक–पटक सुनाउने गरेका थिए ।

मन्त्रालय टुक्र्याउँदा र मन्त्री फेर्दा राज्यमाथि आइपर्ने आर्थिक भारप्रति नेकपा एसलाई कुनै चिन्ता छैन । देशमा महंगी बढेको छ, आर्थिक सूचकहरू नकारात्मक छन्, वैदेशिक ऋण बढ्दो छ, तैपनि नेकपा एसको ध्यान मन्त्री फेर्न र पालो  पुर्‍याउनमा छ ।

चुनाव हारेर पनि प्रधानमन्त्री बनेका माधव नेपाल !

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको राजनीतिक पृष्ठभूमि नैतिकतासँग जोडिँदैन । संविधानसभा निर्वाचनमा २÷२ क्षेत्रबाट चुनाव हेर्दा समेत उनी प्रधानमन्त्री बन्न सफल भएका थिए । उनले जनमत र जनआकांक्षाभन्दा व्यक्तिगत लाभ र पदलाई पहिल्यैदेखि प्राथमिकतामा राख्दै आएका छन् ।

नेपाल २०६४ चैत २८ गते भएको संविधानसभा सदस्य निर्वाचनमा रौतहट–६ र काठमाडौं–२ बाट पराजित भएका थिए । उनलाई दुवै क्षेत्रमा नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेल र झक्कु सुवेदीले हराएका थिए । चुनाव हारेलगत्तै उनले नैतिकताका आधारमा भन्दै पार्टी महासचिव पदबाट राजीनामा दिए तर उनको नैतिकता धेरै दिन टिक्न सकेन । केही हप्तापछि उनी मनोनित सांसद बने भने संविधानसभाकै कार्यकालमा प्रधानमन्त्री समेत बने ।

एमाले विभाजन गरेर पार्टी बनेपछि नेकपा एकीकृत समाजवादीले जनताका लागि के गर्‍याे? प्रधानमन्त्री फेर्ने, मन्त्री फेर्ने र मन्त्रालय टुक्र्याउने कामहरू देखिएका छन् । तर यसबाट जनताले के पाए ?