काठमाण्डु – आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रिपरिषदमा पठाउने जनता समाजवादी पार्टी (जसपा)को निर्णय तत्काललाई थाती रहने भएको छ ।
मन्त्री हेरफेर गर्ने अध्यक्ष उपेन्द्र यादवको एकलौटी निर्णयलाई प्रधानमन्त्रीले शेरबहादुर देउवाले अस्वीकार गरेपछि जसपाको मन्त्री हेरफेर गर्ने निर्णय तत्काललाई रोकिएको हो ।
जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर उपेन्द्रको एकल निर्णय माने आफूसंग रहेका सांसदहरूले समर्थन फिर्ता लिने चेतावनी दिएका थिए । मंगलबारको भेटमा देउवाले उपेन्द्रलाई पार्टीभित्रको लफडा मिलाए मात्र मन्त्रीहरू हेरफेर गर्ने बताएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीले आफ्नो कुरा नसुनेपछि बाध्य भएर उपेन्द्रले बुधवार भट्टराईसंग भेटवार्ता गरेका थिए । उनले भट्टराईलाई दुई–दुई जना मन्त्री पठाउने प्रस्ताव गरेका थिए । तर भट्टराईले उपेन्द्रसंग सहमति गर्न मानेनन् । बाबुरामले अब संगै बस्ने अवस्था नभएको र आफूहरू मन्त्रीको कोटाका लागि सहमति नजनाउने स्पष्ट पारेका थिए ।
बाबुरामले सहमति नजनाएपछि बुधवार अपराह्न उपेन्द्रले संसदीय दलको अनौपचारिक बैठक बोलाएर तत्काल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयांलाई पठाउने वातावरण नरहेको प्रष्ट पारेका थिए ।
बाबुरामको पक्षमा हस्ताक्षर गरेका सांसदहरू समेतको बैठकमा उपेन्द्रले मन्त्री हेरफेरको लागि आफूलाई धेरै दबाब नदिन सासंदहरूलाई आग्रह गरेका थिए । तर बैठकमै सांसद प्रदीप यादव, मृगेन्द्र यादव सहितका सांसदहरूले तत्काल मन्त्रीहरूलाई फिर्ता बोलाउन र नयांको नाम बालुवाटार पठाउन दबाब दिएका थिए ।
संसदीय दलको बैठकमा केही बेर मन्त्री बन्ने आकांक्षी सांसदहरू र उपेन्द्र यादवबीच चर्काचर्की समेत भएको बताइएको छ । बैठकमा चर्काचर्की भएपछि उपेन्द्रले आक्रोशित हुँदै तत्काल मन्त्रीहरूको फेरबदल नहुने र पार्टीमा बस्न नचाहानेलाई छोडेर जान भनेको एक नेताले बताए ।




प्रतिक्रिया