तीन नेतासँग वामदेवको भेट : ‘कम्युनिष्ट एक हुने’प्रस्तावमा ओली मौन, प्रचण्ड र नेपाल सकारात्मक

तीन नेतासँग वामदेवको भेट : ‘कम्युनिष्ट एक हुने’प्रस्तावमा ओली मौन, प्रचण्ड र नेपाल सकारात्मक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केहि दिनअघि मात्र नयाँ दल नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतमले कम्युनिष्ट नेताहरुसँगको घेटघाटलाई तीव्रता दिएका छन् ।

तत्कालिन नेकपा विभाजन भएपछि तटस्थ बसेका नेता गौतम केहि समयदेखि कम्युनिष्ट नेता एक हुनुपर्ने भन्दै राष्ट्रिय अभियान नै सञ्चालन गर्दै आइरहेका छन् । सो क्रममा उनले बिहीबार मात्रै तीन कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।

उनले बिहीबार साँझ मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । उनले नेपाल निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै उनले बिहीबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास पुगेर भेटवार्ता गरेका थिए ।

ओली र प्रचण्डसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले जनाएको छ । नेता गौतमले तीनै नेतासँगको भेटमा एउटै प्रस्ताव राखेका थिए–कम्युनिष्ट एक हुनुपर्यो ।

उनले एमाले अध्यक्ष ओलीलाई ठूलो दलको अध्यक्षको हैसियतमा कम्युनिष्ट पार्टीबीचको एकताको पहल लिन सुझाव दिएका थिए । तर यसबारेमा ओली भने मौन बसेका थिए ।

त्यसैगरी नेता गातमले केपी ओलीलाई भेटेलगत्तै खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । सो क्रममा प्रचण्डलाई गौतमले ‘कम्युनिष्ट घटकबीचको एकताका लागि तपाईँले प्रयत्न गर्नुर्पयो’ भन्ने प्रस्ताव राखेका थिए ।

त्यसमा सके कम्युनिष्टबीच एकता नभए आगामी प्रदेश र संघीय निर्वाचनसम्म एउटै मोर्चा बनाएर जानुपर्ने विकल्प अघि सारिएको छ । यसबारेमा लगत्तै प्रचण्डले उत्साहित हुँदै आफू कम्युनिष्ट एकताको पक्षमा रहेको बताएको स्रोतले जानकारी दियो ।

प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘मैले त कम्युनिष्टहरूबीच एकता हुनुपर्छ भन्दै आएको छु, अझ तपाईँले प्रस्ताव नै ल्याउनुभयो म यसमा सकारात्मक छु ।’

३० बैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामपछि एमाले र माओवादी केन्द्रबीच गठबन्धन गराउने प्रयास भइरहेका बेला वामदेव सक्रिय भएका हुन् ।

नेता गौतमले सम्भव भए बाम एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने विषयमा कम्युनिष्ट नेताहरुसँगको भेटघाटलाई तीव्रता दिइएको बताए ।

‘मेरो भेटघाटको उद्देश्य भनेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नु हो र त्यो प्रस्ताव उहाँहरुसमक्ष राखेको छु’, उनले भने, ‘त्यो सम्भव नभए चुनावी मोर्चा निर्माण गर्ने भन्ने छ ।’

कम्युनिष्ट पार्टीका शीर्ष तीन नेताहरूसँगको भेटवार्तापछि गौतमले आफ्नो पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो ३ बजे बोलाइएको पार्टी प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए ।