जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो, को-को बन्दैछन् नयाँ मन्त्री ?

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो, को-को बन्दैछन् नयाँ मन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।

कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच सहमतिमै पार्टी विभाजन गर्ने तयारी भएपछि जसपाले शेरबहादुर देउवा नेतृत्वमा सहभागी आफ्ना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।

पार्टी कार्यलय सचिव प्रकाश अधिकारी सबै मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी दिए । तर उनले मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको जानकारी दिए ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन् ।

नयाँ मन्त्रीका लागि प्रमोद साह र मोहम्मद इस्तियाक राई, सुशीला श्रेठ, डा. सूर्य नारायण यादव, डा सुरेन्द्र यादवको नाम नाम  चर्चामा रहेको स्रोतले जानकारी दियो ।

पार्टीभित्र यादवले एकलौटी गरेको भन्दै सामूहिक निर्णय प्रक्रिया अपनाउने भट्टराईको नेतृत्वमा जसपाका नेताहरुले दबाब बढाएका थिए । केही समयअघि यादव केही पछि हटेका थिए । तर, विस्तारै उनले आफ्नो पुरानै शैली पुनरावृत्त गरेको भट्टराई पक्षको आरोप छ ।

पार्टी विभाजन हुने भए पनि कुन पक्षमा कति नेता पुग्लान् भन्ने निश्चित छैन । विवादको प्रारम्भमा भट्टराई पक्षसँग कार्यकारिणी समिति र संसदीय दलमा बहुमत रहेको बताइन्थ्यो । तर, पार्टी विभाजन नै हुने स्थितिमा यसअघिका भट्टराई पक्षधर नेताहरुले उनलाई साथ नदिने विश्लेषण यादव पक्षको छ ।

आफ्नो शक्ति पुनःस्थापित गरेपछि यादवले केही दिनअघि आफू पक्षका कार्यकारिणी समिति सदस्यहरुको बैठक बोलाएर संघीय परिषद् अध्यक्ष भट्टराईसहित चार जनाभन्दा बढी नेतालाई स्पष्टीकरण माग्ने, मन्त्रिपरिषद्का आफ्ना सदस्यहरु फिर्ता बोलाउने लगायतका निर्णय गरेका थिए ।

भट्टराईसहितका नेतालाई स्पष्टिकरण सोध्ने निर्णयपछि जसपाको विवाद उत्कर्षमा पुगेको थियो । पार्टीमा विवाद बढ्दै गएपछि अन्ततः दुई पक्ष सँगै बस्न नसकिने निष्कर्षमा पुगेका हुन् ।