सत्ता गठबन्धन दलमा मन्त्री हेरफेरको लहर, किन पुगे प्रचण्डसहितका नेता उपेन्द्र यादव निवास ?

सत्ता गठबन्धन दलमा मन्त्री हेरफेरको लहर, किन पुगे प्रचण्डसहितका नेता उपेन्द्र यादव निवास ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा सरकारमा सहभागी मन्त्री हेरफेरको लहर चलेको छ । पछिल्लो समय नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाएपछि गठबन्धन दलमा मन्त्री हेरफेरको लहर चलेको हो ।

यस्तै सत्ता गठबन्धनमै रहेको अर्को दल जनता समाजवादी पार्टीले पनि सरकारमा रहेका आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । जसपा फुटको डिलमा पुगेका बेला यावदले आफ्ना मन्त्रीहरु परिवर्तन गर्न लागेका हुन् । केहि दिनअघि बसेको जसपाको कार्यकारिणी बैठकले संघीय अध्यक्ष बाबुराम भट्टराईसहित ४ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि जसपाको विवाद छताछुल्ल भएको हो । भट्टराई र यादवले अव सँगै अगाडी बढ्न नसक्ने निष्कर्ष निकालिसकेका छन ।

यसैबीच कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेका छन् । उनले आज बस्ने सत्ता गठबन्धनको बैठकमा नयाँ मन्त्रीहरुको नाम सिफारिस गर्ने बुझिएको छ । नेकपा एसपछि जसपाले पनि पुराना मन्त्री फिर्ता बोलाउने तयारी गरेपछि नेकपा माओवादी केन्द्रका नेताहरुले उपेन्द्र यादवसँग छलफल गरेका छन् ।

शुक्रबार बिहान यादवको निवास हात्तिवनमा पुगेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वर्षमान पुन लगायतका नेताहरुले तत्काल मन्त्री परिवर्तन नगर्न सुझाव दिएको स्रोतले जानकारी दियो । अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिमबारे प्रचण्डले यादवसँग छलफल गरेको स्रोतले बतायो ।

पछिल्लो समय माओवादीमा पनि मन्त्री हेरफेर गरिनुपर्ने अध्यक्ष प्रचण्डलाई दवाव छ । अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दर परिवर्तन गरेपछि सर्वत्र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । यस्तो अवस्थामा सत्ता गठबन्धनमै रहेका दलहरुले मन्त्री हेरफेर गर्न थालेपछि माओवादीलाई पनि दवाव बढ्ने डरले प्रचण्ड यादवलाई सम्झाउन उनको निवास पुगेका हुन् ।