‘वीरबलको खिचडी’ पकाउँदै वामदेव गौतम

‘वीरबलको खिचडी’ पकाउँदै वामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभाजित भएका कम्युनिस्ट पार्टीलाई ध्रुवीकरण गराएर जनमत एकत्रित गर्ने उद्देश्यमा पुराना कम्युनिस्ट नेता वामदेव गौतम लागेका छन् तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदादेखि गौतमको प्रयास सफल हुन सकिरहेको छैन ।

तत्कालीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद चर्किएर विभाजनको अवस्था आउँदा समेत गौतमले समन्वय गरेर मिलाउने प्रयास गरेका हुन् । तैपनि गौतम सफल हुन सकेनन् । नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजित गरेर नेकपा एकीकृत समाजवादी (एस) पार्टी गठन गर्दा पनि गौतम न एमालेमा बसे, न एसतिर लागे । उनी कम्युनिस्ट एकता अभियानमा लागेका छन् ।

गौतम यतिबेला नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका छन् । आगामी कात्तिक–मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कम्युनिस्ट पार्टीलाई मिलाउने गौतमको मुख्य उद्देश्य छ ।

पार्टी एकता वा चुनावी तालमेलका लागि भन्दै गौतमले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र एस अध्यक्ष नेपाल लगायतलाई भेटघाट गरिसकेका छन् । उनले सबै नेतालाई भेटेर एकता वा चुनावी तालमेलको कुरा गरेका छन् । कम्युनिस्टबीच मेलमिलाप नभए नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने गौतमको चिन्ता छ ।

गौतमले भने, ‘म ७३ वर्षको मान्छे कति बाँच्छु थाहा छैन । कम्युनिस्ट आन्दोलन धरासायी हुँदैछ । कम्युनिस्ट आन्दोलन धरासायी भएको बेला चुप लागेर बस्नुहुन्न भनेर नयाँ अभियान थालेको हुँ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।

चुनावमा कम्युनिस्टबीच कार्यगत एकता गर्न नसके कांग्रेसले या बहुमत प्राप्त गर्नेछ, नभए पनि ठूलो पार्टी बन्छ । ५ वर्षसम्म कांग्रेसको नेतृत्वमा संरचना रहनेछ । कांग्रेसको नेतृत्वमा देश विकास र समृद्धि हुन्छ भन्ने विश्वास नलागेर देशको लागि कम्युनिस्ट आन्दोलन एकीकृत गर्न लागेको हुँ ।’

वामदेवको अभियानमा विरोधाभाष !

संयोजक गौतमको अभियानमा केही विरोधाभाष देखिएको छ । उनी कांग्रेसइतरको कम्युनिस्ट शक्ति निर्माण गर्न चाहन्छन् तर उनले मिलाउन खोजेका प्रचण्ड र माधव नेपालहरूले कम्युनिस्ट सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको प्रस्टै छ ।

प्रचण्ड र माधव नेपालहरू अझै पनि कांग्रेससँग मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाउने चक्करमा छन् । यतिबेलाको सत्तारुढ गठबन्धन चुनावसम्मै कायम रहनुपर्ने प्रचण्ड र माधव नेपालले बताउँदै आएका छन् । छरप्रस्ट देखिएको यथार्थलाई नदेखेझै गरी वामदेव गौतमले छुट्टै अभियान थालेका छन् ।

वैचारिक र सैद्धान्तिक रूपमा कम्युनिस्टलाई मिलाउने कुरा वामदेवको सकारात्मक उद्देश्य हो तर व्यावहारिक रूपमा प्रचण्ड र माधव नेपाल कांग्रेससँग धेरै निकट देखिएका छन् भने एमाले अध्यक्ष ओलीसँग धेरै टाढा । अहिले पनि प्रचण्ड र माधव नेपाल तथा ओलीले एकअर्कालाई छुद्र टिप्पणी गर्ने र आलोचना गर्ने गरिरहेका छन् ।

ओलीले प्रधानमन्त्री हुँदा राजदूतदेखि राजकीय पदमा नियुक्ति गर्दा उचित भागबण्डा नदिएको गुनासो प्रचण्ड र नेपालले गर्ने गरेका थिए । नेकपामा हुँदा गौतमले पार्टीभित्रको अन्तद्र्वन्द्व मिलाउन सकेका थिएनन्, उनी विभाजन भइसकेको पार्टीलाई मिलाउन खोजिरहेका छन् । तर, नेकपा विभाजनको मुख्य विऊ रोप्ने पात्र भने तत्कालिन नेकपामा गौतम नै हुन् ।

गौतमले ‘वीरबलको खिचडी’ पकाएजस्तै अभ्यास गरिरहेका छन् । कम्युनिस्ट एकताको प्रयास कसरी निष्कर्षमा पुग्ने हो ? स्पष्ट सम्भावना देखिएको छैन ।

ओली, प्रचण्ड र नेपाल मिल्ने ठाउँ कहाँ छ ?
तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका ओली, प्रचण्ड र नेपाल फेरि मिल्ने ठाउँ बाँकी छ ? तत्कालै सम्भावना देखिँदैन । आसन्न चुनावमा सिटको भागबण्डा मिलेमा वर्तमान सत्तारुढ गठबन्धन नै कायम रहने देखिन्छ । तर कांग्रेसले माओवादी र एसले मागेजति सिट नदिएमा, अवमूल्यन गरेमा भने प्रचण्ड र माधव नेपाल एमालेसँग पनि मिल्ने सम्भावना रहन्छ ।

कम्युनिस्टहरू गोलबद्ध हुने परिस्थिति सैद्धान्तिक, वैचारिक र वामदेवको प्रयासभन्दा पनि सिट बाँडफाँटको स्वार्थसँग जोडिएको छ । स्वार्थकै कारण कम्युनिस्ट एकता भत्किएर वर्तमान सत्तारुढ गठबन्धन बनेको हो । कम्युनिस्ट घटकहरूको स्वार्थी दौडमा वामदेव सैद्धान्तिक ध्रुवीकरण खोजिरहेका छन् ।

अन्त्यमा वामदेव कता मिल्लान् ?

नेपाली राजनीतिमा लामो समयसम्म सक्रिय गौतम प्रधानमन्त्री बन्न चाहन्छन् । बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि गौतमले उपनिर्वाचन वा राष्ट्रियसभा सदस्यमार्फत प्रधानमन्त्री बन्ने उपायको खोजी गरेका थिए तर सफल हुन सकेनन् । उनी प्रधानमन्त्री बन्ने दौड पनि ‘वीरबलको खिचडी’जस्तै भयो ।

आसन्न चुनावबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर गौतम प्रधानमन्त्री बन्ने प्रयास फेरि गर्नेछन् । आगामी चुनावमा कम्युनिस्टलाई नमिलाई गौतम प्रधानमन्त्री बन्ने सम्भावना छैन । स्थानीय चुनावको नतिजा हेर्दा पनि कांग्रेस पहिलो शक्ति बनेर बहुमतउन्मुख देखिन्छ । कांग्रेस पहिलोशक्ति बनेको बेला वामदेवलाई प्रधानमन्त्री बनाउने सम्भावना पनि हुँदैन ।

कम्युनिस्टबीच ध्रुवीकरण नभएको अवस्थामा वामदेव गौतम सांसद बन्न कुन कित्तामा उभिएलान् ? कुनै कित्तामा नगई एक्लै चुनाव लडेर गौतम सांसद बन्न सक्दैनन् । कांग्रेस नेतृत्वको गठबन्धन वा एमालेसँग मिलेर चुनाव लड्नुबाहेक गौतमसँग विकल्प रहँदैन । वाम ध्रुवीकरणको अन्तिम प्रयास गरिरहेका वामदेव अन्तिममा कुन कित्तामा उभिएलान् ? हेर्न बाँकी छ ।