काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको बारेमा संसदिय छानबिन समिति बनाउने प्रस्ताव गरेका छन् । अर्थमन्त्री शर्माले बिचौलियाको प्रभावमा करको दर परिवर्तन गरेको र सीसीटीभीको फुटेज समेत डिलिट गरेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने माग उठिरहेको बेला खड्काको यस्तो भनाई आएको हो ।
प्रधानमन्त्री निकट नेता भनेर चिनिएका खड्काले ढिला नगरी संसदबाट आजै संसदिय समिति निर्माणको टुंगो लगाउनुपर्ने बताएका छन् ।
उनले भनेका छन् ‘बजेट निर्माणको बेलाको बिषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गंभीर चासोको बिषय बनी सकेपछि यो बिषयलाई बिश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ । ’
यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत अर्थमन्त्रीमाथि प्रश्न उठिसकेपछी छानविन गर्नुपर्ने र उनले राजीनामा दिनुपर्ने बताएका थिए । अर्थमन्त्रीको बारेमा मंगलवार सांझ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका उपसभापति खड्काबीच बालुवाटारमा छलफल भएको थियो ।




प्रतिक्रिया