काठमाण्डु – नेपाली सेनाले गोरखाको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत १८ किलो मिटर सडक निर्माण गरी हस्तान्तरण गरेको छ ।
सेनाले धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं.३ स्थित दोभानसम्मको १८ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य सम्पन्न गरी सडक विभाग अन्तर्गत गोरखाका प्रमुख सि.डि.ई. पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेकाे हाे ।
२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद् बैठकले भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण उक्त सडक खण्डको ट्रयाक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।
प्राप्त जिम्मेवारी अनुरुप नेपाली सेनाले मिति २०७४ बैशाख ११ गतेबाट ट्रयाक खोल्ने कार्य शुरु गरेको थियो । उक्त सडक खण्डको निर्माण पश्चात गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया