काठमाण्डु- नेपाल प्रहरीले हात हतियारखरिदसम्बन्धी समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाल प्रहरीले मुलुकको आर्थिक अवस्था तहसनहस भएको बेला ८४ करोडको हतियार खरिद गर्न लागेको भन्दै सर्वत्र आलोचना भएको थियो ।
नेकपा एमालेका सांसद नवराज सिलवालले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मुलुकको आर्थिक अवस्था तहसनहस भएको अवस्थामा बजेट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८४ करोड रुपैयाँ हतियार खरिद गर्न खोजेकोप्रति आपत्ति जनाएका थिए ।
‘पाँचदलीय गठबन्धन अब वित्तीय गठबन्धन, लाभको गठबन्धन, फाइदाको गठबन्धनमा परिणत भएको छ, नेपाल प्रहरीलाई आवाश्यक नै नपरेको हतियार खरिद गर्ने निर्णय गरेर यसलाई पुष्टि गरेको छ,’ सांसद सिलवालले भने, ‘बिचौलियाको भरमा हतियार खरिद गर्न रकम निकासा गराइँदैछ, यतिबेला नेपाल प्रहरीलाई हतियार होइन, प्रविधियुक्त बनाउन जरुरी छ ।’
प्रहरीले भने हात हतियार अभावको समस्या झेल्दै आएकाले प्रचलित कानूनअनुसार प्रहरीको कार्य सम्पादननलाई प्रभावकारी बनाउन हतियार खरिद गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआईजी टेक प्रसाद राईले सोमबार विज्ञप्ति जारी गर्दै सात वर्षभन्दा लामो समयदेखि प्रहरीले हतियार खरिद नगरेको र अहिले हात हतियारको चरम अभाव भएकोले खरिद प्रक्रियामा रहेको जानकारी दिएका छन् ।
प्रहरीले खरिद प्रक्रिया खरिदसम्बन्धी ऐन,नियम र कार्यविधिमा व्यवस्था भए बमोजिम पारदर्शी ढंगले प्रक्रिया अघि बढाउने दावी गरेको छ ।





प्रतिक्रिया