धनगढी– ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कपको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरिया भिड्ने भएका छन्।
धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाईनलमा फराकिलो जित दर्ता गर्दै आयोजक फारवेष्ट पशुपतिले फाईनलमा पिएफए अत्तरीयासँगको भेट पक्का गरेको हो।
पिएफए अत्तरिया यसअघि नै सुदुरपश्चिम–११ स्पोर्टस क्लवलाई १–० ले हराउँदै फाईनल पुगिसकेको छ।
उपाधिका लागि शनिवार धनगढी रंगशालामा पिएफए अत्तरीया र आयोजक फारवेष्ट पशुपति युवा क्लव विच प्रतिस्पर्धा हुने आयोजक फारवेष्ट पशुपति युवा क्लवका सचिव ललीत मिश्रले जानकारी दिए।
धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाईनलमा विदेशी खेलाडी सेगुनको दोहोर ह्याट्रिकको मदत्तले आयोजक फारवेष्ट पशुपति न्यु वुद्ध युवा क्लव फुलवारीलाई ८–१ को फराकिलो जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो।
सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा न्यु वुद्धले समालिन नसकेपछि हराकिलो हार व्यहोरेको हो।
निकै रोमाञ्चक रहेको पहिलो हाफको १४ औं मिनेटमा न्यु वुद्धका लक्ष्मण शाहीले पहिलो गोल गर्दै अग्रता दिलाए। तर त्यो अग्रतालाई फारवेष्टले ३ मिनेट पनि टिक्न दिएन।
पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी सेगुनले गोल गर्दै खेललाई वरावरीमा पुर्याए। फारवेष्टकै रोशन खत्रीले ४३ औं मिनेटमा दोस्रो गोल गर्दै आफ्नो टीमलाई २–१ को अग्रता दिलाए।
पहिलो हाफको अन्तिम समयमा विपक्षी टीमले अग्रता कायम गरेपछि टीम सम्हालिन सकेन र दोस्रो हाफमा न्यु वुद्धले थप ६ गोद खायो।
दोस्रो हाफको ४४ औं मिनेटमा महेश चन्दले तेस्रो गोल गर्दै ३–१ को अन्तर वनाए। त्यसपछिका लगातार ५ गोल गर्दै सेगुनले दोहोरो ह्याट्रिक पुरा गरे। उनले दोस्रो हाफको ६३, ६७, ७७, ८३ र ८७ औं मिनेटमा गोल गरेका हुन्। उनी नै म्यान अफ द म्याच भए।
मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गते शनिवार सकिनेछ। झण्डै ५ लाख नगद पुरस्कार राशी रहेको फारवेष्ट पशुपति कपको विजेताले नगद तीन लाख र उपविजेताले नगद डेढ लाख प्राप्त गर्नेछन। विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीहरुले जनही १०÷१० हजारका दरले नगद पुरस्कार पाउनेछन।




प्रतिक्रिया