स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ


काठमाण्डु – हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् ।

उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरेका हुन् ।

‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता श्रेष्ठले भने । महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्टदेखि देशभर प्रदर्शन हुने तयारीमा छ ।

उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका छन् ।

‘बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ’, उनले भने ।

लेखकसँगै निर्देशकसमेत रहेका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए ।

‘काठमाण्डुमै छायाङ्कन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ । उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ’, निर्देशक भट्टराईले भने ।

फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement