विमानस्थलले किन रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान ?

विमानस्थलले किन रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ जहाज भारतको नयाँ दिल्लीका लागि उड्ने तरखरमा थियो । धमाधम ‘बोर्डिङ’ पास भइरहेको थियो । ७३ जना यात्रु बोर्डिङ पास लिइ सुरक्षा जाँचमा गइसकेका थिए ।

तर, विमानस्थलका कर्मचारी आएर ‘बोर्डिङ’ पास रोक्न भनेसी चेक–इन काउन्टरले तत्काल बोर्डिङ पास रोक्यो । एयरलाइन्सका कर्मचारीले बोर्डिङ पास भएका र हुन बाँकी रहेकालाई केहि समय रोक्न आग्रह गर्यो । सो उडानमा २५४ जना दिल्ली जाँदै थिए । तर, केहि समयपछि एयरलाइन्सका कर्मचारीले यात्रुहरुलाई उडान रोकिएको जानकारी दिए ।

बोर्डिङ पास लिइसकेका यात्रुले विमानस्थलमा केहीबेर नाराबाजीसमेत गरेका थिए । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको उडान कटौती गरेकाले उडान रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणले जाडो समय अर्थात् अक्टोबर ३० देखि मार्च २७ सम्मका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिकामा निगमको आइतवार र शुक्रवार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाण्डुबाट हुने उडान कटौती गरेको छ । उडान तालिका भएको दिनमात्र उडान हुनुपर्ने ठाकुरले बताए ।

हाल नेपाल वायुसेवा निगमले काठमाण्डु–नयाँ दिल्ली दैनिक दुई उडान गर्दै आइरहेको छ । सातामा १४ उडान गरिरहेको निगमका हाल प्राधिकरणले चार वटा उडान कटौती गरिदिएको छ ।