सबै मिलेर विकासका काम गरौँ : रवि लामिछाने

सबै मिलेर विकासका काम गरौँ : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर – भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् ।

तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न ‘फिल्ड’मै जाए ।

सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बोलाएर नवनिर्वाचि सांसदले बाटो निर्माणको सार्वजनिक प्रतिबद्धता गर्न लगाए । “यहाँका जनताको धेरै गुनासो सडकको बारेमै छ, आज त्यही भएर ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु”, सांसद लामिछानेले भने ।

उनले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताए । “तपाईँहरू मलाई आश गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईँहरू सबैजना लड्ने होइन जिम्मा लिन म आएको छु”, तपाईँहरूका लागि अब म लड्ने हो तपाईँहरूले मलाई भोट हालिसक्नुभा’छ”, उनले भने ।

उहाँले जितपश्चात अब बधाइ खाने समय नभएको भन्दै अब काम गर्ने बेला आएको बताए । त्यहीअनुसार औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले जनताको काममा लागिपरेको उनको भनाइ छ ।

“मैले यसरी उभिएर बाटो बनाउने कामलाई झकझक्याउँदै गर्दा कसैले मिडियाबाजी, स्टन्ड ग-यो भने भन्लान्, त्यो मतलब भएन तर यहाँको बाटो बन्नुप-यो, स्थानीयवासी ढुक्कले बस्न पाउनुप-यो”, नवनिर्वाचित सांसद लामिछानेले भने । “मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउनुहोला, म तपाईँहरूको काममा अघि बढ्छु, मलाई साथ दिनुहोला”, उनले सबैलाई अनुरोध गर्दै भने।