कालिकोट । गएको कात्तिक–१२ गते कालिकोटको तिलागुफा नगरपालिका –१० स्थित रानावाडामा २ जना बालिकाको ज्यान जानेगरी भएको बम विष्फोटको घटनाबारे इन्सेकले आफ्नो प्रतिवेदन तयार गरेको छ ।
इन्सेक कर्णाली प्रदेशले तत्कालिन माओवादी र सरकारबीच ०५२ फागुन १ गतेबाट चलेको १० वर्ष लामो सशस्त्र द्वन्दको अन्त्य भएको १६ वर्ष भइसक्दा समेत समय–समयमा विष्फोटका घटना हुनुलाई द्वन्द्वको अवशेषका रुपमा लिएको छ ।
सो घटनामा परी ३ वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ वर्षीया सरस्वती रानाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो ।
घटनामा घाइते चार जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु-याइएको थियो । घाइते ८ वर्षीय कमल थापा, ३ वर्षीया दर्शना राना र ५ वर्षीय मुस्कान थापा प्रदेश अस्पतालमा उपचार पश्चात मंसिर १३ गते डिस्चार्ज भएका छन् ।
१२ कात्तिक बिहान ८ बजेको समयमा बेवारिस अवस्थामा फालिएको बम केटाकेटीले खेलौना ठानी खेलाउँदा विष्फोट भएको थियो ।
इन्सेक कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्ने सन्दर्भमा बेवारिस अवस्थामा राखिएका विष्फोटक पदार्थको प्रभावकारी रुपमा निष्क्रिय नहुँदा यस्ता घटना प्रत्येक वर्ष हुने गरेको बताए ।
बालबालिकाका हक अधिकारको सम्बन्धमा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्त गरेको प्रतिवद्धता, नेपालको संविधानमा बालबालिकाको हक सम्बन्धमा भएका संवैधानिक व्यवस्था र सम्बन्धमा कानुनहरू बनी कार्यान्वयनमा रहेको भएतापनि पटक पटक यस्ता किसिमका घटनामा बालबालिका पीडित भइराख्नु राष्ट्रको बिडम्बन रहेको इन्सेकको भनाइ छ ।




प्रतिक्रिया