म्यादी प्रहरी मायाको हत्यामा संलग्न सशस्त्र प्रहरी जवान पक्राउ

म्यादी प्रहरी मायाको हत्यामा संलग्न सशस्त्र प्रहरी जवान पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् ।बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका हुन् ।

आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । माया लुहारको यही मंसिर १४ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । कोलीलाई पक्राउ गर्न केन्द्रबाट समेत सीआईबीको टोली खटिएको थियो ।

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी थिइन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । माया यही मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् ।