पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

पहाडी भूभागमा हल्का हिमपातको सम्भावना


काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

राति प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका केही भू-भागमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।