तराईमा तापक्रम झर्दै, छैन सतर्कता

तराईमा तापक्रम झर्दै, छैन सतर्कता


कैलाली – सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा शीतलहरसँगै कुहिरो बढिरहेको छ । केही दिनदेखि कैलाली र कञ्चनपुरमा दिनभरिजसो बाक्लो कुहिरो लाग्दै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली तथा कञ्चनपुरसहित पश्चिम तराईका धेरै स्थान कुहिरोले प्रभावित भएको छ । महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा जारी गरेको मौसमी अवस्थामा धनगढीमा न्यूनतम तापक्रम नौ डिग्री छ । सोमबार धनगढीको न्यूनतम् तापक्रम सात दशमलव पाँच डिग्री थियो ।

धनगढीमा मङ्गलबार न्यूनतम् तापक्रममा केही सुधार भए पनि बाक्लो कुहिरो भने बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा दृष्यात्मक (पारदर्शिता) शून्य दशमलव एक माइल रहेको छ । एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै रहने महाशाखाको भनाइ छ ।

धनगढीमा मङ्गलबारदेखि हुस्सु तथा कुहिरोको प्रभाव थिएन । महाशाखाका अनुसार पारदर्शिता छ हजार माइल रहेको थियो । महाशाखाले हुस्सु मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने सम्भावना रहेको उल्लेख गरेको छ । “बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ र मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने देखिन्छ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुनसमेत अनुरोध छ”, महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महाशाखाले जारी गरेको तीनदिने बुलेटिनमा पनि अझै तराईका जिल्लामा हुस्सु तथा कुहिरोको प्रभाव कायम रहेकाले सावधानी अपनाउन सुझाव दिएको छ । कुहिरो, हुस्सु तथा शीतलहरका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । एकाएक ह्वात्तै चिसो बढेकाले विभिन्न सङ्क्रमणको रोग प्रकोप फैलिन सक्ने देखिएको छ । चिसो मौसममा दम, रुघाखोकी, ज्वरो, निमोनियाको प्रकोप फैलिन सक्ने डा.जगदिश जोशीले बताए ।

कैलालीमा चिसो बढ्दै गए पनि स्थानीय प्रशासन तथा सरोकारवालाले आमनागरिकलाई चिसोबाट बचाउने गरी कार्यक्रम अघि बढाउन सकेका छैनन् । चिसोका कारण सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका तथा अतिविपन्न घरपरिवार प्रभावित हुने गरेका छन् । विगतमा स्थानीय सरकारले न्यानो कपडा वितरण, चोक–चोकमा दाउरा वितरणलगायत काम गरे पनि पछिल्लो समय यस्ता कार्यक्रमले निरन्तरता पाउन सकेको छैन ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले आवश्यकताअनुसार दाउरा मौज्दात रहेको बताए । उनले स्थानीय तहहरूले माग गरेमा आवश्यकताअनुसार दाउरा उपलब्ध गराउन सक्ने बताए । उनले भने, “यद्यपि अहिलेसम्म कुनै स्थानीय तहबाट दाउरा माग भएको छैन ।”

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पनि अहिलेसम्म बस्न नसकेको जनाइएको छ । चिसोबाट कसैको मृत्यु हुन नदिन आवश्यक सतर्कताका कार्यक्रम अघि बढाउन निर्देशन दिने सो समितिको बैठक आह्वान हुन नसकेको जनाइएको छ । कैलालीमा चिसोकै कारण विगत वर्षहरूमा ११ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

कैलालीमा सबैभन्दा बढी सन् २०१३ मा कैलालीको पहलमानपुरमा चिसोका कारण तीन जनाको मृत्यु भएको थियो भने सन् २००३ मा चिसोका कारण दुई जनाको मृत्यु भएको थियो । सन् २०१४ देखि सन् २०२२ को अवधिमा कैलालीमा चिसोका कारण कुनै व्यक्तिको मृत्यु नभए पनि जोखिम भने यथावत रहेको विज्ञहरू बताउँछन् । डा.निराजन शर्माका अनुसार जाडो मौसममा विविभन्न किमिका फ्लुको सङ्क्रमण बढ्ने डर बढी हुन्छ ।