काठमाण्डु- नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले परिक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चिकालिन तालाबन्दी गरेको छ । आइतबार स्नातक तह बिबिएस चौथो वर्ष बिजनेस रिसर्च मेथोड विषयको दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थीको उत्तर पुस्तिका हराएको घटनाको विरोध स्वरुप क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
क्रान्तिकारीले परीक्षा नियन्त्रकको राजीनामा, दोषी कर्मचारीलाई कडा कारबाही र हराएका उत्तरपुस्तिकाको खोजि गर्न तथा सो संकायको परीक्षा फल प्रकाशन गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारीका ईन्चार्ज गोबिन्द विष्टले विद्यार्थीहरुको उत्तर पुस्तिकाको समेत सुरक्षा गर्न नसक्ने असक्षम, गैरजिम्मेवार र नैतिकहिन परीक्षा नियन्त्रक पुष्पराज जोशीको तत्काल राजीनामाको माग गरेका छन् ।
२०७८ पुष २० गतेदेखि माघ ४ सम्म त्रिविले लिएको दमक बहुमुखि क्याम्पसको ७०२०२०००१ देखि ७०२०२००२५२ सम्मका विद्यार्थीको उत्तरपुस्तिका हराएको घटना बाहिरिएको थियो । क्रान्तिकारीले दिन प्रति दिन संकटको भूमरिमा फँस्दै गइरहेको त्रिवीले आफ्नो गल्ती र कमजोरी थप बढाउदै लगेको आरोप लगाएको छ । त्यसअघि आजै उक्त विद्यार्थी संगठनले प्रदशन गरेको छ ।
यसैबीच सो बिरोध प्रदर्शन कार्यक्रमलाई सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईले सम्बोधन गर्दै असक्षम त्रिवि प्रशासनले तत्काल राजिनामा नदिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।





प्रतिक्रिया