विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदान उच्च छ : राष्ट्रपति भण्डारी

विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदान उच्च छ : राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दै आएको बताएकी छन् ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरिन् ।

राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन्, ‘संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहम् भूमिका खेल्दै आएको बताउँदै सेनाका परमाधिपति भण्डारीले यस वर्ष भएका तीनै तहका निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् ।

सोही उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ ।’

कठिन परिस्थितिमा समेत नेपाल र नेपालीका हितमा पुर्‍याएको योगदानले सेनाको महत्व र सार्थकतालाई मुखरित गरेको उल्लेख गर्दै उनले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण संरक्षण, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा, खेलकुदमा आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकताको प्रशंसा गरेका छन् ।

त्यस्तै रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।